ट्राभल

फुर्बा तेन्जिङ भन्छन् : सगरमाथा आरोहण अक्सिजनबिना सम्भव होला, शेर्पा बिना हुन्न

By एकराज बास्तोला

March 30, 2019

 

काठमाडौं- कहिलेकहीँ रेकर्डहरु थाहा नपाई त्यसै बन्ने गर्छन् । फुर्बा तेन्जिङ शेर्पाको जीवनमा पनि यसैगरी थाहै नपाई दुईवटा रेकर्ड कायम भएका छन, त्यो पनि गिनिज बुक वर्ल्डमा रेकर्डमा ।

अघिल्लो वर्षको मे २३ मा उनले आफ्ना दाजुभाइ-दिदीबहिनीहरु – पेम्बा दोर्जे शेर्पा, दावा डिकी शेर्पा, फुर्बा थिन्ले शेर्पासँग सगरमाथाको शिखर पुगे । उनको त्यो सगरमाथा आरोहणले एकै बाबुआमाका सबैभन्दा धेरै छोराछोरीले सगरमाथा चढेको रेकर्ड कायम गरेको थियो । तर, के उनलाई आफूले गिनिज बुकमा रेकर्ड राख्न जाँदैछु भन्ने थाहा थियो ? ‘अहँ, जब हामीले रेकर्ड राख्यौँ तबमात्र मलाई यसबारे थाहा भयो ।’ उनले भने ।

यी युवा शेर्पाको नाममा अर्को ‘विभिन्न समयमा सबैभन्दा धेरै दाजुभाइले सगरमाथा आरोहण गर्ने’ कीर्तिमान पनि छ । फुर्बा तेन्जिङ शेर्पासहित उनका बाबुआमा छिरिङ नोर्बु शेर्पा र किमजुङ शेर्पाका ११ मध्ये ७ सन्तानले हालसम्म सगरमाथाको आरोहण गरिसकेका छन् ।

फुर्वाका दाजुभाइ-दिदीबहिनीहरु पेम्बा ग्याल्जेन शेर्पा, फुर्बा थुण्डु शेर्पा, पेम्बा दोर्जे शेर्पा, निमा ग्याल्जेन शेर्पा, दावा डिकी शेर्पा, फुर्बा थिन्ले शेर्पा र फुर्बा तेन्जिङ शेर्पाले हालसम्म सगरमाथाको शिखर चुमिसकेका छन् । ‘खुशीको कुरा होइन त ?’ मुस्कानसहित उनी प्रतिप्रश्न गर्छन् ।

सन् १९८८ मा दोलखाको रोल्वालिङ गाउँमा जन्मेका फुर्बा तेन्जिङले भरियाको रुपमा १४ वर्षको उमेरबाट काम गर्न थालेका हुन् । हालसम्म उनले २३ जना नेपाली र अरु धेरै विदेशीलाई हिमालका शिखरसम्म पुर्‍याइसकेका छन् ।

उनी ती दिनहरु सम्झिन्छन, जतिबेला भरियाहरु उचाईका कारण बेँसीबाट पाँच दिनको बाटो भएर लुक्ला पुग्नका लागि टासी लेप्सा भञ्जाङ (५७५० मिटर) पनि पार गर्न नसकिरहेका कारण गाउँमा आएका थिए । ‘त्यसपछि मैले कलिलो उमेरबाट भरियाको काम शुरु गरेँ ।’ उनी भन्छन् । भरियाको काम गर्न थालेको तीन वर्षपछि उनको दिमागमा संसारको सबैभन्दा सर्वोच्च शिखर चढ्ने रहर पलायो ।

‘म आत्मविश्वास जुटाउन सफल भएँ र अन्त्यमा म सगरमाथाको शिखरमा पुग्न सफल पनि भएँ । मैले मेरा दाजु पेम्बा दोर्जे शेर्पासँग तिब्बततर्फबाट सन् २००७ मा सगरमाथाको शिखरमा पुगेँ,’ खबरहबसँगको कुराकानीका क्रममा उनले सुनाए ।

त्यसअघि उनले १६ वर्षको उमेरमा पुमोरी हिमाल (७१६१ मिटर) चढ्ने असफल प्रयास गरेका थिए । ‘हिम पहिरोका कारण मैले पुमोरी हिमालको शिखरमा पुग्न सकिन,’ उनी सम्झिन्छन् ।

त्यसपछि उनले पछि फर्केर हेर्नुपरेको छैन । ‘त्यसले मेरो आत्मविश्वास बढायो,’ फुर्बा भन्छन् । सन् २००८ र २०१७ मा उनले तीन दिनको अवधिमा दुईपटक सगरमाथा चढ्न पनि भ्याइसकेका छन् । उनी शुरुमा सगरमाथाको शिखर पुगेर, त्यसपछि तल क्याम्प ४ झरेर फेरि सगरमाथाको शिखरमा पुगेका थिए ।

उनले मनास्लु हिमाल तीन पटक आरोहण गरिसकेका छन् । सन् २०११ मा उनले अमादब्लम हिमाल पनि १० दिनभित्रै चढेका थिए भने अमादब्लमको शिखरमा १० घण्टा बिताएका थिए ।

हामीले उनलाई यतिका हिमाल चढेर के पाउनु भयो भन्ने प्रश्न सोध्यौँ, उनी भन्छन्, ‘मैत्रीपूर्ण भरिया र सहयोगी गाइडको सकारात्मक छवि र प्रशंसा नै मैले यतिका वर्षमा पाएको छु ।’

उनका अनुसार शेर्पा समुदाय हिमाल कै काखमा हुर्किएकाले शेर्पा समुदायले हिमाललाई ईश्वर नै मानेर सम्मान गर्छन् । ‘हामी हिमाललाई भगवान् नै मान्छौँ, हामी हिमाललाई आफ्नी आमाजत्तिकै सम्मान र माया गर्छौँ,’ उनले भने ।

तर, सरकारले आरोहीहरुलाई सुरक्षित रुपमा हिमालका शिखरसम्म पुर्‍याउने शेर्पाहरुको समस्यालाई ध्यान नदिएकोमा भने निराश छन् । ‘हामी नजरअन्दाज भएजस्तो महशुस गरिरहेका छौँ ,’ उनले भने ।

पछिल्लो पुस्ताका शेर्पाहरुले पर्वतारोहणलाई छाड्दै गएकोमा उनी उत्तिकै निराश छन् । ‘पर्वतारोहणबाहे धेरै विकल्पहरु उनीहरुसामु रहेकाले युवापुस्ताका शेर्पाहरुमा पर्वतारोहणप्रतिको आकर्षण घट्दै गइरहेको छ । उनीहरु पर्वतारोहण गर्नु भन्दा पनि विदेश जान रुचाइरहेका छन् ।’ फुर्बाले खबरहबलाई भने ।

कुराकानीका क्रममा उनी सन् २०१५ मा भूकम्पपछि सगरमाथामा गएको हिम पहिरोको भयावह घटना याद गर्छन् । त्यस हिम आँधीमा परी उनको मेरुदण्डमा चोट लागेको थियो । ‘त्यसबेला म बाँच्छु भनेर मैले सोचेकै थिइन ।’ उनले भने ‘अझै पनि हिमाल चढ्दा म डराउँछु ।’

शेर्पाहरुको प्रसंशा सुनेर उनी खुशी हुन्छन् । ‘सगरमाथा अक्सिजनबिना चढ्न सकिएला, तर शेर्पाबिना सगरमाथा चढ्न असम्भव छ ।’ फुर्बाजस्ता भरिया र गाइडका लागि यो भन्दा खुशीको कुरा के होला ?

त्यसो भन्दै गर्दा उनले पत्रकार रोसा बस्नेतलाई सगरमाथामा गाइड गर्दाको क्षण सम्भिन्छन्, ‘उनले मेरो सहयोगको प्रशंसा गरिन् ।’ उनले थपे, ‘जब ईश्वर तपाईँको साथमा हुन्छन्, किन डराउनुपर्‍यो ?