रोचक/विचित्र संसार

आमाले नै किन सन्तानको नाम कोरोना र भाइरस राखिन् ?

By खबरहब

April 03, 2020

विश्वभर कोरोना भाइरसको संक्रमण बढिरहेको बेला कोरोना डरको उपनाम झै बनेको छ ।

यस्तोमा कसैले पनि कोरोनाको संक्रमण त परको कुरा यससँग मिल्दो लक्षण पनि नहोस् भन्ने कामना गर्दछ । यो बेला कसैले नामको सट्टा कोरोना भाइरस भनेर पुकार्याे भने के होला ? अझ कसैको नामको नै कोरोना भाइरस हुनसक्ला ?

मेक्सिकोकी एक महिलाले आफ्नो सन्तानको नाम कोरोना भाइरस राखेकी छन् । अस्पतालमा भर्ना भएकी कोरोना संक्रमित गर्भवति महिलाले शिशुको नाम के राख्ने भन्ने बिषयमा योजना नबनाएकाले उनलाई चिकित्सकले मजाकका रुपमा कोरोना र भाइरस नाम राख्न सुझाएका थिए । उनले पनि यसलाई स्वीकार्दै साँच्चैको नाम कोरोना भाइरस नै राखिदिइन् ।

३४ वर्षे एनामारिया जोस राफेल गोंजालेजले आफ्नो जुम्ल्याहा शिशुको नाम कोरोना र भाइरस राखेकी हुन् । आफु कोरोना संक्रमित भएपछि शिशुको नाम पनि कोरोना भाइरस राखेको उनले बताइन ।

शिशुको नामको बिषयमा डा. इदु रदो कास्टिल्सले कोरोना र भाइरस राख्ने कि भनेर सुझाएको र आफुलाई त्यहि नाम मन परेकोले जुम्लाहा सन्तानको नाम कोरोना भाइरस नै राखेको राफेलले बताइन् ।

मेक्सिकोको बेसिक ला विला अस्पतालमा राफेलले जुम्लाहा शिशुलाई जन्म दिएकी थिइन् । अब दुई शिशु मध्ये छोरीको नाम कोरोना जोस मिगुएल गोंजालेज र छोराको नाम भाइरस जोस मिगुएल गोंजालेज छ ।

उनले दुई सन्तानसहित सार्वजनिक गरेको तस्वीर अहिले सामाजिक सञ्जालमा भाइरल बनेको छ ।