समाचार

टिकटकका कारण इन्टरनेटको गुणस्तरमा धक्का

By खबरहब

September 04, 2020

काठमाडौँ – टिकटक नेपालमा त्यति नै चर्चित र लोकप्रिय छ, जति फेसबुक । टिकटकको यो लोकप्रियता छ महिनायता झन् बढ्दो छ ।

‘लकडाउन’ले घरभित्रै रहँदा धेरै इन्टरनेट प्रयोगकर्ताका लागि टिकटक समय गुजार्ने रमाइलो माध्यम पनि बन्यो । यसको लोकप्रियता त्यसयता चुलिएको छ । टिकटकको चुलिँदो लोकप्रियताले नेपालको इन्टरनेटको गुणस्तरमा भने धक्का दिएको छ ।

इन्टरनेट सेवा प्रदायकका अनुसार अहिले नेपाल भित्रिने कुल अन्तर्राष्ट्रिय हिस्सा टिकटक प्रयोगमै खपत हुन्छ अर्थात् १७० जीबीपीएस सम्मको अन्तर्राष्ट्रिय ब्यान्डविथ टिकटककै लागि प्रयोग हुने गर्छ ।

जुन बन्दाबन्दीअघि सम्म जम्मा १० जीबीपीएसको हाराहारी थियो । सुरक्षा सतर्कताका लागि भन्दै टिकटकले पूर्वजानकारी बिना आफ्नो इन्टरनेट प्रोटोकल एचटीपीपीबाट एचटीपीपीएसमा परिवर्तन गरेपछि नेपाली सेवा प्रदायक यतिबेला समस्यामा देखिन्छन् ।

टिकटकले आफ्नो इन्टरनेट प्रोटोकल परिवर्तन गरेपछि ‘क्यास सर्भर’को अभावमा यसका लागि सबै अन्तर्राष्ट्रिय ब्यान्डविथ प्रयोग हुन थालेको छ । क्यास सर्भर कुनै पनि कन्टेन्टलाई स्थानीय रूपमै उपलब्ध गराउन राखिने सर्भर हो ।

जसको प्रयोगले इन्टरनेट प्रयोग केही छिटो बन्न पुग्छ ।

विश्वभर नै घट्यो इन्टरनेट स्पिड

लकडाउनका कारण अनलाइन प्रयोजनमा इन्टरनेटको प्रयोग बढ्दा विश्वभर नै इन्टरनेटको स्पिड घटेको छ । एमल्याबले अक्सफोर्ड विश्वविद्यालयसँगको सहकार्यमा गरेको अध्ययनले यस्तो पुष्टि गरेको हो ।

उक्त अध्ययनअनुसार लकडाउनअघि विश्वको औसत इन्टरनेट स्पिड २९.३६ एमबीपीएस रहेकामा लकडाउनमा ६.३१ प्रतिशतले घटेर २७.५१ एमबीपीएस पुगेको छ ।

नेपालको औसत इन्टरनेट स्पिड लकडाउनअघि ५.५३ एमबीपीएस रहेकामा लकडाउनमा घटेर ४.५२ एमबीपीएस पुगेको छ । यसबीचमा चीनको इन्टरनेट स्पिड सबैभन्दा धेरै खस्किएको पाइएको छ । लकडाउनअघि चीनको १२.५८ एमबीपीएस औसत इन्टरनेट स्पिड रहेकामा लकडाउनमा घटेर ६.१७ एमबीपीएस रहेको अध्ययनले देखाएको छ । गोरखापत्र दैनिबाट