काठमाडौं – कोरोना भाइरस संक्रमितको उपचारका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदको जिम्मा पाएको नेपाली सेनाले स्वास्थ्य सामग्री ल्याउन अझै एक साता लाग्ने जनाएको छ ।
गत चैत्र २० गतेको मन्त्रिपरिषद बैठकले स्वास्थ्य सामग्री खरिदको जिम्मा दिएपछि विभिन्न ५ मुलुकलाई स्वास्थ्य सामग्री उपलब्ध गराउनका लागि पत्राचार गरिएकोमा भारत र चीनले मात्रै जवाफ दिएपछि आवश्यक प्रकिया पूरा गरेर स्वास्थ्य सामग्री ल्याउन लागिएको नेपाली सेनाले जनाएको छ ।
सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार आवश्यक भुक्तानी प्रकिया पूरा गरेर भारतबाट ५३ प्रकारका तथा चीनबाट ६७ प्रकारका स्वास्थ्य सामग्री तथा औषधि ल्याउन लागिएको छ ।
पीपीई, मास्कसहितका स्वास्थ्य सामग्री तथा औषधि ल्याउन लागेको सेनाले भारतीय कम्पनी बीपीटीआइसँग खरिद प्रकिया टुंग्याएको छ ।
बीपीटीलाई अन्तरदेशीय निर्यातको अधिकार नभएपछि ती सामग्री दिल्लीस्थित नेपाली दूतावासमा जम्मा गरिदैछ । त्यसका लागि करोड ५० लाख भारतीय रुपैयाँ भूक्तानी गरिसकिएको प्रवक्ता शर्माले जानकारी दिए ।
चीनबाट स्वास्थ्य सामग्री आयातको प्रकिया अघि बढिसकेको छ । प्रवक्ता शर्माका अनुसार अवको एक सातामा चीनबाट स्वास्थ्य सामग्री आइसक्नेछन् ।
मे १ देखि ५ तारिखसम्म चीनमा सार्वजनिक विदा भएकाले गोन्जाओबाट ल्याउन लागिएका ३७ टन स्वास्थ्य सामग्री ल्याउन ढिलाई भएको छ ।
स्वास्थ्य सामग्री खरिद गरेर ल्याउन लागिएको कम्पनीले विश्वका अरु ८० मुलुकलाई पनि उक्त सामग्रीहरु निर्यात गरिरहेकाले पालो आउन केही ढिलाई हुनेछ ।
पालो आएलगत्तै भन्सार लगायतका प्रकिया सकेर ती स्वास्थ्य सामग्री नेपाल ल्याइनेछ । त्यसका लागि नेपाल एयरलाइन्सका २ वटा जहाज तयारी अवस्थामा राखिएको छ ।
सेनाले ल्याउन लागेका २ लाख पीपीईमध्ये ३० हजार विमानमा र बाँकी गाडीमा ल्याउने तयारी छ। विमानबाट २ उडानमा ३७ टन र बाँकी ३ सय ५ टन गाडीबाटै ल्याउने तयारी छ।
गाडीबाट ल्याइँने स्वास्थ्य सामग्री लिएर आउने गाडी सिगात्से हुँदै तातोपानीसम्म आउँनेछन् । केही गाडी तातोपानीका लागि हिडेको जानकारी आएको उनले बताए ।
उक्त सामग्रीका लागि सेनाले चिनियाँ कम्पनी साइनोलाई १ करोड ८४ लाख ४१ हजार ७०६ अमेरिकी डलर भुक्तानी गरिसकेको छ ।