फाइल फोटो

अन्तर्राष्ट्रिय

आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक भएको ट्रम्पको भनाई

By खबरहब

May 07, 2020

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरसको महामारी अमेरिकामा अहिलेसम्म भएका सबैखाले आक्रमणभन्दा पनि घातक भएको टिप्पणी गरेका छन् ।

ह्वाइट हाउसमा पत्रकारहरुसँगको नियमित संवादमा राष्ट्रपति ट्रम्पले दोस्रो विश्वयुद्धका बेला जापानी बमवर्षक विमानद्वारा पर्ल हार्बरमा गरिएको बमबारी र दुई दशकअघि न्यूयोर्कस्थित ट्वीन टावरमा भएको आतङ्कवादी हमलाभन्दा पनि कोरोना भाइरसको महामारी घातक देखिएको बताए।

उनले यावत खराब अवस्थाको जिम्मेवार चीन भएको समेत फेरि दोहोर्‍याएका छन् ।

‘चीनमा रहेको भाइरसको मुहानै रोकिनुपर्थ्यो तर त्यसो भएन’, ट्रम्पले भने, ‘म यो अदृश्य शत्रुलाई युद्धका रुपमा लिन्छु । मलाई यो भाइरस यहाँसम्म जसरी आयो त्यो मन परेको छैन, किनकी यसलाई रोक्न सकिन्थ्यो, तर त्यस्तो भएन।’

वुहानमा रहेको एक प्रयोगशालाबाट भाइरस फैलिएको भन्दै अमेरिकाले चीनमाथि छानविन गर्नुपर्ने पटक/पटक बताउदै आएको छ । चीनले भने उक्त आरोपहरुलाई पुष्टि गर्न चुनौती दिदै आएको छ।