राजनीति

कोरोना परीक्षण गराउन पुगेका प्रचण्डले भने– २ दिन भित्रै स्थायी कमिटी बोलाउँछौं

By खबरहब

May 07, 2020

काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले एक–दुई दिनभित्रै स्थायी कमिटि बैठक बोलाउने बताएका छन् ।

कोरोना परीक्षणका लागि बिहीबार संघीय संसद भवन पुगेका अध्यक्ष प्रचण्डले आन्तरिक गृहकार्य नपुगेकाले बैठक बस्न नसकेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल जारी रहेको भन्दै उनले भने, ‘अलि गृहकार्य नपुगेकै हो । दुबै अध्यक्षले बैठक एक दुई दिन भित्र बोलाउँछौं ।’

स्थायी कमिटी बैठकका एजेण्डा तय गर्न बुधबार बोलाइएको सचिवालय बैठकमा सहमति जुट्न नसकेपछि स्थायी कमिटी बैठक अनिश्चित बनेको छ ।

अध्यक्ष प्रचण्डले संसद सभा हलको समेत अनुगमन गरेका छन् । अनुगमनका क्रममा प्रचण्डले बैठक ढुक्कसँग बस्न सक्ने वातावरण बनेको बताए ।

उनले भने, ‘पहिले एक सिट छोडेर बस्ने भन्ने थियो, तर अहिले दुई सिट छोडेर बस्न मिल्ने बनाइएको छ । प्रधानमन्त्रीका लागि २ वटा रो नै छोड्ने र माथि पनि प्रयोग गर्ने बनाउनुभएको छ । स्यानिटाइजेसन गरेर राम्रोसँग स्वास्थ्य सुरक्षाका उपाय अपनाइएको छ । ढुक्कसँग बैठक बस्ने वातावरण बनेको छ ।’