अन्तर्राष्ट्रिय

थाइल्याण्डमा एक सैनिकले अन्धाधुन्ध गोली चलाउँदा १२ जनाको मृत्यु

By खबरहब

February 08, 2020

बैंकक– थाइल्याण्डमा सशस्त्र सैनिकले जथाभावी गोली चलाउँदा सैनिक कमाण्डरसहित कम्तीमा १२ जनाको ज्यान गएको छ ।

ति सैनिकले राजधानी बैंककबाट उत्तर पूर्वमा रहेको नाखोन राचासीमा प्रान्तको मुआङ जिल्लामा गोली चलाएका हुन् ।

शुरुमा आफ्ना कमाण्डर र अरु सैनिकलाई लक्षित गरी गोली चलाएको र पछि बख्तरबन्द गाडीमा चढेर ति सैनिक आफ्नो ब्यारेकबाट भागेको थाई समाचार संस्थाहरुले जनाएका छन् ।

गाडीबाट भाग्नेक्रममा उनले बाटोमा गैरसैनिक सर्वसाधारणलाई लक्षित गरी समेत गोली चलाएका थिए । गोलीकाण्डमा अरु धेरै जना घाइते भएको बताइएपनि यकिन सङ्ख्या सार्वजनिक गरिएको छैन ।

गोली चलाउने सैनिकले आक्रमणको सामाजिक सञ्जाल फेसबुकमार्फत् प्रत्यक्ष प्रसारण समेत गरेका थिए । उनी हाल फरार रहेको र उनको खोजीका लागि ठूलो सङ्ख्यामा सैनिक तथा प्रहरी परिचालन गरिएको छ ।