समाचार

चिनियाँ नागरिक सिंहदरबार प्रवेश गर्न खोजेपछि प्रहरीसँग झडप, ६ जना घाइते

By खबरहब

May 08, 2020

काठमाडौं – सिंहदरबारको मुख्य प्रवेशद्वार अगाडि धर्ना बसेका चिनियाँ नागरिक र प्रहरीबीच झडप भएको छ ।

झडपमा परी दुई चिनियाँसहित ६ जना घाइते भएका छन् ।

घर फर्कन माग गर्दै सिंहदरबारको मुख्य गेट अगाडि धर्ना दिएका उनीहरु भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले बल प्रयोग गरेको थियो ।

शुक्रवार दिउँसो २५/३० जनाको संख्यामा रहेका चिनियाँहरु सिंहदरबार भित्र प्रवेश गर्न खोजेपछि झडप भएको थियो ।

‘चिनियाँहरु भित्र पस्न खोजे्, त्यसपछि केही बल प्रयोग गरिएको हो’, महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले खबरहबसँग भने ।

पक्राउ परेका उनीहरुलाई भृकुटीमण्डपस्थित नेपाल पुलिस क्लबमा राखिएको उनले जानकारी दिए ।

एसएसपी ज्ञवालीले यसबारे दूतावसमा जानकारी गराउने बताए ।