अन्तर्राष्ट्रिय

हाइड्रोक्सिक्लोरोक्वीनको निर्यात खोलेपछि ट्रम्पले गरे मोदीको तारिफ

By खबरहब

April 09, 2020

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको प्रशंसा गरेका छन् ।

निर्यातमा प्रतिबन्ध लगाइएको हाइड्रोक्सिक्लोरोक्वीन नामक औषधिको निर्यात फुकुवा गरेपछि ट्रम्पले मोदीको तारिफ गरेका हुन् ।

भारतले यसअघि मलेरिया (औलो)को निदानका लागि प्रयोग गरिने हाइड्रोक्सिक्लोरोक्वीन नामक औषधिको निर्यातमा रोक लगाएको थियो । पछिल्लो समय अमेरिकासहित केही देशले कोरोना संक्रमित बिरामीको उपचारका लागि समेत उक्त औषधि प्रयोग गरिरहेका थिए ।

कोरोना संक्रमित रोगीको उपचारमा प्रभावकारी नतिजा दिएको औषधिको निर्यातमा भारतले प्रतिबन्ध लगाइदिएपछि ट्रम्पले त्यसको विरोध जनाएका थिए ।

पछि ट्रम्पकै ‘अनुरोध’मा भारतले उक्त औषधिको निर्यातमाथि लगाएको प्रतिबन्ध फुकुवा गरेको थियो ।

ट्रम्पले मोदीको तारिफ गर्दै आफ्नो ट्वीटर ह्यान्डलमा लेखेका छन्– ‘असाधारण समयमा मित्रहरुबीच घनिष्ट सहयोग आवश्यक छ । हाइड्रोक्सिक्लोरोक्वीननबारे लिइएको निर्णयका लागि भारत र भारतीय जनतालाई धन्यवाद । यो कहिल्यै बिर्सने छैन ! प्रधानमन्त्री नरेन्द्र मोदी, यो लडाईंमा भारतलाई मात्रै नभई मानवतालाई पनि सहयोग गर्न चाल्नुभएको तपाईंको यो उत्कृष्ट नेतृत्वका लागि धन्यवाद ।’

Extraordinary times require even closer cooperation between friends. Thank you India and the Indian people for the decision on HCQ. Will not be forgotten! Thank you Prime Minister @NarendraModi for your strong leadership in helping not just India, but humanity, in this fight!

— Donald J. Trump (@realDonaldTrump) April 8, 2020