काठमाडौं – कुनै समय टेलिफोनमा कुराकानी गर्न घण्टौँ हिड्नुपर्ने नेपालीका घरघरमा अहिले मोबाइल फोन छ ।
घरको एउटा कुनै सदस्यलाई फोन गरेर कसैलाई दिनोस् न भन्दा उसकै मोबाइल फोन गर्दा हुन्छ नि भन्ने अवस्था सृजना भएको छ । अर्थात प्रत्येक घरका हरेकजसो सदस्यको हातहातमा मोबाइल छ ।
तर मोबाइल फोन छिटो चार्ज नहुदा दिक्क लाग्नेहरु पनि धेरै नै छन् । यस्तो समस्या समाधानका लागि आजकल स्मार्टफोन निर्माता कम्पनीहरूले उनीहरूको मिडरेन्ज र त्यस माथिको श्रेणीका स्मार्टफोनमा फास्ट चार्ज सुविधा प्रदान गरिरहेका छन्।
तर यस्ता धेरै प्रयोगकर्ताहरू छन् जससँग फास्ट चार्ज स्मार्टफोनहरू छैनन् र उनीहरूको फोनहरू ढिलो चार्ज हुने गरेको छ ।
फोन ढिलो चार्ज हुने कारणहरू धेरै भएकाले त्यस्ता कारणलाई पहिचान गरी हटाउन सके मोबाइल फोन छिटो चार्ज गर्न सकिन्छ । हामी यहाँ तपाईलाई केही त्यस्ता टिप्स दिदैछौँ जसले तपाईको फोन ढिलो चार्ज हुने समस्या समाधान गर्न मद्दत मिल्नेछ ।
१.मोबाइल स्वीच अफ गरेर मात्रै चार्ज गर्ने
यदी तपाईं मोबाइल अफ नै नगरी चार्ज गर्दै हुनुहुन्छ भने आजैदेखि उक्त बानी त्यागिदिनोस् । तपाईं फोनलाई स्वीच अफ गरेर मात्र चार्ज गर्न थाल्नोस्, त्यसो गरेपछि स्मार्टफोनलाई छिटो चार्ज गर्न सकिन्छ ।
फोन अफ गरेर नेटवर्क सिग्नलहरू बन्द हुनेछ र धेरै जसो एप्स पनि बन्द हुनेछन्, यसले चाँडै चार्ज हुनेछ।
२. सक्कली चार्जर प्रयोग गर्नुहोस्
मोबाइल चार्च गर्दा सधै सम्बन्धित कम्पनीले उपलब्ध गराएको चार्जर मात्रै प्रयोग गर्नुहोस् ।
बजारमा सस्तो मूल्यमा किन्न पाईने नक्कली र सस्तो चार्जर प्रयोग नगर्नुहोस् ।
यसो गर्दा तपाईँको स्मार्टफोन पड्किने सम्भावना धेरै हुन्छ साथै स्मार्टफोन छिटो बिग्रिने जोखिम पनि उच्च हुन्छ।
३. मोबाइलमा उपलब्ध विकल्पको प्रयोग
तपाईँको मोबाइलमा पावरसँग सम्बन्धित विभिन्न विकल्पहरु हुन्छन् ।
सँधै पावर सेभिंग मोड र ब्याट्री सेभर Power saving mode/ Battery saver मोड प्रयोग गरेर स्मार्टफोन चार्ज गर्नुहोस्।
यसो गर्दा स्मार्टफोनमा भएका ब्याकग्राउण्ड एप्स बन्द गर्दछ र मोबाइल छिटो चार्ज हुन्छ ।
४. फ्लाईट मोडमा चार्ज गर्नुहोस्
यदि तपाईँ फोनलाई अन नै राखेर चार्ज गर्न चाहनुहुन्छ भने फोनलाई फास्ट चार्ज गर्न फ्लाइट मोडमा पनि राख्न सक्नुहुनेछ ।
यो सुबिधा अहिलेको हरेक स्मार्टफोनमा राखिएको हुन्छ । फोनलाई फ्लाइट मोडमा राख्दा मोबाइल नेटवर्क सिग्नल, वाईफाई, ब्लूटूथ लगायतका कनेक्सनहरु बन्द हुन्छ र फोन छिटो चार्ज हुन्छ ।
५. नक्कली डाटा केबल प्रयोग नगर्नुहोस्
मोबाइल फोन चार्ज गर्दा जुनपायो त्यही डाटा केवलको प्रयोग पनि छिटो चार्ज नहुने अर्को कारण हो ।
सस्तो र नक्कली डाटा केबल प्रयोग गरेर चार्ज गर्दा पनि समस्या हुन्छ । चार्जर ओरिजिनल नै भए पनि डाटा केवल नक्कली भएमा काम गर्दैन । यसर्थ डाटा केवल पनि सक्कली नै प्रयोग गर्नोस् ।
यसअतिरिक्त आफ्नो मोबाइल सुरक्षित राख्न फोनमा लगाइएको ब्याक कभर पनि चार्ज गरेको बेला निकालेमा छिटो चार्ज हुन्छ ।
ब्याक कभरको साथ फोन चार्ज गर्नाले मोबाइल छिटो तातिन्छ । यसले पनि फोन छिटो चार्ज हुन मुस्किल हुन्छ ।