औषधी/उपचार

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापीबाट कोरोना संक्रमितको उपचार गर्ने

By खबरहब

September 11, 2020

पोखरा- पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले प्लाज्मा थेरापी विधिबाट कोभिड–१९ का सङ्क्रमितको उपचार गर्ने भएको छ ।

प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा.अर्जुन आचार्यले प्लाज्मा थेरापीबाट उपचारका लागि निको भएका संक्रमितलाई रक्तदान गर्न आग्रह गरेका छन् ।

रक्तदान गर्न इच्छुकले प्रतिष्ठान परिसरभित्र रहेको रक्त सञ्चार केन्द्रमा उपस्थित भएर रक्तदान गर्न सक्नेछन् । डा.आचार्यका अनुसार यो विधिको लागि संक्रमितले आफ्नो रिपोर्ट नेगेटिभ आएको दुई हप्तामा रक्तदान गर्न सक्नेछन् । यस विधिबाट उपचार गर्दा संक्रमित छिटो निको हुने चिकित्सकहरूले बताएका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार शुक्रबारसम्म प्रदेशममा कोरोना संक्रमितको संख्या दुई हजार ७४७ पुगेको छ । शुक्रबार १७ जना नयाँ सङ्क्रमित थपिएका छन् । एकहजार ८१४ जना निको भइसकेका छन् ।

गण्डकी प्रदेशमा ९११ जना सक्रिय सङ्क्रमित छन् । कोरोनाका कारण प्रदेशमा हालसम्म २२ जनाको मृत्यु भएको छ ।