काठमाडौं – विराज भट्ट निर्देशित फिल्म ‘साङ्लो’ मा एउटा संवाद बारम्बार दोहोरिइरहन्छ – बोको बन्नू तर बलिको बोको नबन्नू ।
‘साङ्लो’ का कारण भने विराज स्वयम् ‘बलिको बोको’ बनेका छन् । किनकि, उनले आफ्नो पुनरागमनलाई दर्शकले सहजै लिन सक्ने गरी फिल्म बनाएका छैनन् । ‘साङ्लो’ पनि नेपाली फिल्म उद्योगका लागि म्याद नाघेको चकलेट उपहार जस्तै हो ।
चकलेट खाऊँ भने मीठो होला, तर म्याद नाघिसकेको चकलेटले स्वास्थ्यलाई हानी पनि गर्ला ।
अभिनेता विराज भट्टको ‘कमब्याक’ लाई त दर्शकले भव्यताका साथ स्वीकारे । तर, विराज भने फिल्म मेकिङमा नयाँ स्वाद र शैलीका साथ दर्शकमाझ पुग्न सकेनन् । जसकारण, दर्शकले उनलाई जुन उचाइमा राख्ने प्रयत्न गरिरहेका थिए, त्यो उचाइमा पुग्न विराज चुके ।
दर्शकले विराजको कमब्याक (पुनरागमन) हेर्दा ‘बाघ फर्किएको’ भन्दै तारिफ गरे । तर, ‘साङ्लो’ मा उनी बाघ होइन, बलिको बोको बने ।
विराजले दशकौं अघिको फिल्मी स्वादमा ‘साङ्लो’ निर्माण गरेका छन् । जबकि, उनले दशकौं पुरानो आफ्नो ‘स्टारडम’लाई परिस्कृत रुपमा प्रस्तुत गर्नुपर्ने थियो ।
भलै विराजको साङ्लोले व्यावसायिक सफलता हासिल गर्न सक्छ । यो फिल्मप्रति दर्शकले अथाह प्रेम दर्शाउन सक्छन् । रिलिजको पहिलो शनिवार देखिएको दर्शकको उत्साहजनक सहभागिता त्यसैको प्रतिफल हो । तर, के विराजले अहिलेका दर्शकलाई आफ्नो फिल्ममार्फत हलसम्म तान्न सके त ?
सकेनन् । मल्टिप्लेक्समा उनको फिल्म चलेन ।
विराजको ‘साङ्लो’ लाई मल्टिप्लेक्स हल मालिकले नपत्याए पनि फिल्मको चर्चा भएको भए अर्को प्रोजेक्टलाई हलवालाले हल दिन बाध्य हुने थिए । तर, विराज भने लामो समयपछि नेपाली फिल्म उद्योगमा फर्किँदा पनि पुरानै धारको फिल्म मेकिङमा देखिएका छन् ।
खबरहबसँगको कुराकानीमा विराजले भनेका थिए – मैले ‘साङ्लो’ अहिलेको समयअनुसार परिमार्जन गरेर बनाएको छु ।
विराजले नेपाली दर्शकको अहिलेको समयको माग अनुसार निर्माण गरेको बताए पनि ‘साङ्लो’ भने उनको दाबीजस्तो छैन । यो फिल्म दशकअघि निर्माण हुने फिल्मको शैलीमा निर्माण गरिएको छ ।
अझै पनि दर्शकले उही ‘हेइइ…’ शैलीको फिल्म मेकिङ मन पराउँछन् भन्ने भ्रमबाट विराज मुक्त हुन जरुरी थियो ।
बलिउडमा पनि फरक शैलीमा फिल्म निर्माण हुन थालिसकेका छन् । विराज भने उही पुराना शैलीलाई प्रस्तुत गर्नतर्फ लागिपरेका छन् ।
यो शैली स्वयम् विराजका लागि पनि घातक साबित हुने सम्भावना हुन्छ ।
अभिनेता राजेश हमालले आफूलाई परिष्कृत गर्न नसक्दा उनका पछिल्ला फिल्महरु दर्शकले रुचाएनन् । भलै उनी महानायक कहलिन्छन् । हमालले आफ्नो स्टारडम जोगाइराख्न पुराना धारका फिल्ममा काम गर्न नै बन्द गरिदिए ।
अर्का एक्सन स्टार निखिल उप्रेतीले पनि पुरानो ढर्राको फिल्म ‘भैरव’ बाट कमब्याक हुँदा दर्शकको साथ पाए । त्यसपछि उनले यस्तै शैलीका फिल्म निर्माण गर्दा बक्स अफिसमा असफलता मात्र बेहोरे ।
कुनै जमानामा एकपछि अर्को सफल चलचित्र दिएका नायकहरुका फिल्म पनि असफल हुनुको एउटै कारण हो, ती नायकहरु अपग्रेड नहुनु ।
छिमेकी देश भारतमा लोकप्रियता कमाएका सलमान खान, शाहरुख खान, आमिर खान, अक्षय कुमारदेखि अमिताभ बच्चनसम्म सबैले आफूलाई समयअनुसार परिमार्जन गरेका छन् । नेपाली कलाकार भने आफूलाई बदल्न सकेका छैनन् ।
अहिले सिक्स प्याक बडी मात्र होइन, कथा पनि बलियो भएको फिल्म दर्शकलाई मन पर्छ । बरु फिल्ममा खाइलाग्दो ज्यान नहोस्, तर मन छुने कथा चाहिँ होस् । अबका दर्शकले फिल्ममा स्टारले ‘हेइइ’ भन्दै हात उठाएको दृश्य मात्र हेर्न चाहँदैनन् । उनीहरुले आफ्नो भावना समेटिएका कथाहरुको पनि खोजी गरेका छन् ।
नेपालमा त्यत्तिकै ‘पशुपतिप्रसाद’ जस्ता चलचित्रहरु सफल भएका होइनन् । यसको कारण ती फिल्ममा दर्शकले पाएको अपनत्वको कथा हो ।
लामो समयपछि विराज भट्टले जसरी नेपाली फिल्म उद्योगमा कमब्याक गरे, त्यो धेरै दर्शकका लागि प्रतीक्षित पनि थियो । उनको फिल्म कुरिरहेका आम दर्शकलाई यदि उनले परिष्कृत र स्तरीय फिल्म दिन सकेको भए विराजको चर्चा चुलिन्थ्यो । तर, विराज ‘अपग्रेडेड’ फिल्म दिनबाट पूर्ण रुपमा चुकेका छन् ।
यसले विराजको करिअरमा ठूलै भूकम्प ल्याउन सक्छ । विराजले यसमा खेलवाड गरे भने भोलिका दिनमा उनलाई आफ्नो स्टारडम जोगाइराख्न हम्मेहम्मे पर्छ ।
हो, हलमा दर्शकको ओइरो लगाउन नेपाली कलाकारलाई सकस छ । कलाकारले अनेक कोशिश गर्दा पनि हलमा दर्शक आइदिन्नन् । अहिलेको घरेलु बजारलाई हेर्ने हो भने अनमोल केसी, प्रदीप खड्का, दीपकराज गिरी लगायतका केही कलाकारबाहेक अरु कलाकारका फिल्म हेर्न दर्शक हलसम्म आउने कष्ट नै गर्दैनन् ।
यो भीडमा जमानाका एक्सन स्टार विराजको जुन क्रेज देखियो । त्यो बडो अजिबको थियो । सम्भवतः मेरो यस्तो क्रेज छ भन्ने स्वयम् विराजलाई पनि थाहा थिएन । किनकि, लामो समयपछि नेपाली फिल्म क्षेत्रमा फर्कँदै थिए उनी ।
अब ‘साङ्लो’ को कुरा गरौं ।
यो फिल्म विराजको कमजोर फिल्ममध्ये एक हो । तर, फिल्ममा एक्सन भने दर्शकलाई पुग्दो मनोरञ्जन दिने खालको छ । एक्सनबाहेक फिल्ममा अरु केही पनि छैन, जुन चर्चा गर्नलायक होस् ।
पूर्वमिस नेपाल निकिता चण्डकको ‘डेब्यु’ भनिएको यो फिल्ममा निकिताले पनि खासै कमाल देखाउन सकेकी छैनिन् । न त जयनन्द लामाले नै फिल्ममा जादु देखाएका छन् । बरु प्रकाश साहको अभिनय केही हदसम्म सुहाउँदो लाग्छ ।
फिल्ममा एक्सनबाहेक तारिफ गर्नलायक केही छैन । फिल्म हेरिरहँदा यस्तो लाग्छ, के यो विराज भट्टले बनाएको फिल्म नै हो ?
तर, फिल्ममा विराज छन् ।
फिल्म बनाएर मात्र फिल्म बन्दैन । फिल्मको प्रस्तुतीकरण दर्शकलाई चित्तबुझ्ने हुनुपर्छ । उदाहरण नै हेरौं, हलिउडले बनाएका काल्पनिक फिल्म ‘अवतार’ को कथामा हामी डुबेका हुन्छौं । दक्षिण भारतीय फिल्मको प्रस्तुतीकरणले पनि दर्शकको मन जित्न थालिसकेका छन् ।
अहिले दर्शकले प्रस्तुतीकरणका अनेक आयाम बुझ्न थालिसकेका छन् । त्यसो त नेपालमा पनि फिल्म मेकिङमा नयाँपनको प्रयोग हुने गरेको छ ।
विराज भने अरु फिल्मी दुनियाँबारे अनभिज्ञ भएझैं गरी फिल्म बनाइरहेका छन् । यो दुर्भाग्य हो । किनकि, विराजको क्रेज अझै पनि छ ।
दर्शकले साथ दिइरहेका बेला विराजले राम्रो फिल्म दिन सकेको खण्डमा विराजको क्रेज सधै रहिरहने सम्भावना हुन्छ ।
अहिले विराजले ‘साङ्लो’ को सिक्वेल बन्न सक्ने संकेत दिइसकेका छन् । के फेरि यस्तै फिल्मको तयारीमा जुटे भने ‘साङ्लो’ जस्ता फिल्म दर्शकले हेर्छन् ? यसबारेमा विराजले बेलैमा ध्यान दिनुपर्ने हुन्छ ।
बलिउड फिल्म आफै ९० को दशकबाट मुक्त भइसकेका बेला विराजले फेरि ९० को दशमा पुगेर फिल्म निर्माण गर्दा एकाध फिल्मलाई त दर्शकले पत्याउलान् तर कालान्तरमा विराजको स्टारडम यस्तै फिल्मका कारण सकिनेमा दुई मत छैन ।