अन्तर्राष्ट्रिय

माल्टामा ३० भन्दा बढी ट्राफिक प्रहरी भ्रष्टाचार अभियोगमा पक्राउ

By खबरहब

February 12, 2020

भलेटा– भूमध्यसागरीय मुलुक माल्टामा ३० जना भन्दा बढी ट्राफिक प्रहरी भ्रष्टाचार अभियोगमा पक्राउ परेका छन् ।

करिब ५ लाख जनसङ्ख्या रहेको युरोपेली युनियनको सबैभन्दा सानो मुलुक माल्टामा जम्मा जम्मा ५० जनाको संख्यामा ट्राफिक प्रहरी रहेको बताइन्छ ।

जसमध्ये ३० भन्दा धेरै ट्राफिक प्रहरी भ्रष्टाचार, अनियमितता र घुसखोरीको आरोपमा पक्राउ परेका छन् ।

उनीहरुमध्ये केहीले आफूले काम नगरेरै ओभरटाइमको तलब लिएको, सवारीचालकसँग घुस मागेको, काम गर्ने बेला आवश्यकताभन्दा धेरै तेल मागेर निजि सवारीमा प्रयोग गरेको, नातावाद कृपावादलाई बढावा दिएको लगायतका आरोप लगाइएको छ ।

उनीहरुलाई त्यहाँको आर्थिक अपराध एकाईले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।

यससँगै माल्टाका सडकमा ट्राफिक प्रहरीको उपस्थिती निकै पातलो रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यसको समाधानका लागि यसअघि ट्राफिक प्रहरीमा सेवा गरी हाल प्रहरीकै अन्य विभागमा काम गरिरहेकालाई ट्राफिक प्रहरीमा फर्किन आग्रह गरिएको छ ।

त्यहाँका प्रधानमन्त्री रोबर्ट अबेलाले प्रहरीले प्रहरीलाई पक्राउ गरी अनुसन्धान गर्नु राम्रो काम भएको प्रतिक्रिया दिएका छन् ।

प्रहरीले प्रहरीलाई पक्राउ गर्नुले आफ्नो मुलुकमा प्रभावकारी प्रहरी संरचना भएको पुष्टि भएको उनको भनाइ छ । माल्टामा व्यापारिक, प्रशासनिक तथा राजनीतिक तहमा व्यापक भ्रष्टाचार हुने गरेको आरोप लाग्दै आएको छ ।