फाइल फोटो

राजनीति

नेतृत्वको प्रस्तावमाथि असन्तुष्टि जनाउँदै कांग्रेस अनुशासन समिति सदस्यबाट चौधरीले दिए राजीनामा

By खबरहब

March 12, 2020

काठमाडौं- नेपाली कांग्रेसको अनुशासन समितिका सदस्य उमाकान्त चौधरीले राजीनामा दिएका छन् ।

पार्टीका कार्यकर्तालाई नेतृत्वले गरेको कारबाहीप्रति असन्तुष्टि जनाउँदै चौधरीले बुधबार राजीनामा दिएका हुन् ।

सभापति शेरबहादुर देउवा र बरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीका पूर्वसहमहामन्त्री गोविन्दराज जोशी, डडेल्धुराका सभापति कर्ण मल्ल, कैलालीका नेता पुष्करनाथ ओझालाई गरेको कारबाहीप्रति उनले असन्तुष्टि जनाएका थिए ।

जोशीविरुद्ध पौडेललाई हराउन भूमिका खेलेको, ओझाविरुद्ध आरजु राणा देउवालाई हराउन भूमिका खेलेको र मल्लले पार्टीको निर्देशन नमानेको भन्दै सम्बन्धित जिल्ला समितिबाट कारबाहीका लागि सिफारिस गरिएको थियो।

उनीहरुलाई साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्ने सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रस्तावमा चौधरीले असहमति जनाएका थिए ।

भिष्मराज आङदेम्बेको संयोजकत्वमा रहेको अनुशासन समितिमा किशोरसिंह राठौर, देवेन्द्रराज कँडेल, धनराज गुरुङ र उमाकान्त चौधरी सदस्य थिए ।