समाचार

कोरोना भाइरसबारे भिडियो कन्फरेन्स गर्न प्रधानमन्त्री ओली समक्ष मोदीको प्रस्ताव

By खबरहब

March 13, 2020

काठमाडौं– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कोरोना भाइरस विरुद्ध रणनीति बनाउन भिडियो कन्फरेन्स गर्न प्रस्ताव गरेका छन् ।

त्यसका लागि उनले प्रधानमन्त्री ओली समक्ष कुटनीतिक माध्यमबाट प्रस्ताव गरेका हुन् ।

भारतीय राजदूतावासले परराष्ट्र मन्त्रालयमार्फत मोदीको उक्त प्रस्ताव प्रधानमन्त्री कार्यालयमा पठाएको छ ।

‘यसबारे प्रधानमन्त्री कार्यालयमा प्रस्ताव आएको छ’ प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले भने,‘तर मितिबारे टुंगो लागेको छैन ।’ प्रधानमन्त्री ओली मिर्गौला प्रत्यारोपणपछि अहिले अस्पतालमा उपचार गराइरहेका छन् ।

भारतीय प्रधानमन्त्री मोदीले विश्वभर फैलिरहेको कोरोना भाइरसबारे दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) का सदस्य राष्ट्रहरुले साझा धारण बनाउनु पर्ने शुक्रवार विहान ट्वीट मार्फत धारणा सार्वजनिक गरेका थिए ।

दक्षिण एशियामा विश्वको ठूलो जनसंख्या भएकाले यहाँका नागरिकलाई स्वास्थ राख्न कुनै कसर बाँकी राख्न नहुने बताएका थिए ।

उनले सार्क मुलुकले दुनियालाई एएटा उदाहरण पेश गर्न र स्वस्थ विश्वका लागि योगदान गर्न सक्ने उल्लेख गरेका थिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्ध लड्न सार्क राष्ट्रका नेतृत्वकर्ताबाट साझा धारणा बनाउन गरेको प्रस्तावको स्वागत गरेका छन् ।

प्रधानमन्त्री ओलीले ट्वीट मार्फत कोरोनाभाइरस विरुद्ध लड्न सार्कले रणनीति बनाउने विषयमा नेपाल सरकार सार्क सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्न तयार रहेको जनाएका छन् ।

कोरोना भाइरसका कारण भारतमा १ जनाको ज्यान गएको छ भने ७५ जना संक्रमित भएका छन् । नेपालमा पनि केही समय अघि एक जनामा संक्रमण देखिएको थियो । उनी अहिले स्वास्थ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पाकिस्तान, माल्दिभ्स, भुटान, श्रीलंका, बंगलादेश, अफगानिस्तानमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छ ।