खेलकुद

रोनाल्डोको गोलले हारबाट जोगियो युभेन्टस

By खबरहब

February 14, 2020

काठमाडौं- क्रिस्टियानो रोनाल्डोको पेनाल्टी गोलमा युभेन्ट्स कोपा ईटालियाको पहिलो लेगमा हारबाट जोगिएको छ ।

बिहीबार राति भएको सेमिफाईनलको पहिलो लेगको खेलमा युभेन्ट्स र एसी मिलानले एक एक गोलको बराबरी खेलेका हुन् ।

एन्टी रबिकले ६१ औं मिनेटमा गोल गर्दै घरेलु टोली एसी मिलानलाई सुरुवाती अग्रता दिलाएका थिए ।

थिएगो हर्नाल्डेज ७१ औं मिनेटमा रातो कार्ड खादै मैदान बाहिरिएपछि मिलान क्लब १० खेलाडीमा सीमित बनेको थियो ।

हारको नजिक पुगेको युभेन्ट्सलाई रोनाल्डोले जोगाए । दोस्रो हाफको ईन्जुरी समयमा प्राप्त पेनाल्टीमा गोल गर्दै उनले टिमलाई खेलमा फर्काउन सफल रहे ।

गत साता मात्र ३५ बर्षमा पुगेको रोनाल्डोले देश र क्लबका लागि ३५ खेलमा ३५ गोल गर्न सफल रहेका छन् ।

दोस्रो लेगको खेल मार्च ४ मा युभेन्ट्सको घरेलु मैदान टूरिनमा हुनेछ ।