देश/प्रदेश

संक्रमित बढेसँगै कैलालीमा कोरोनाको त्रास बढ्यो– विदेशबाट आएकाको खोजीमा स्थानीय तह

By खबरहब

April 14, 2020

लम्की– कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको खोजी गर्न स्थानीय सरकारले विदेशबाट आएका नागरिकको खोजी अभियान थालेका छन् । कैलालीको लम्की चुहा नगरपालिका र जानकी गाउँपालिकाले तथ्यांक सकलन अभियान सकेका छन् भने टीकापुर नगरपालिकाले मंगलबारदेखि अभियान शुरु गरेको छ ।

लम्की चुहाले ४८४ र जानकीले २३७ जना विदेशबाट आएको पत्ता लगाएका छन् । यसरी पत्ता लगाएका व्यक्तिको सोमबारदेखि र्‍यापिड टेष्ट शुरु गरिएको लम्कीचुहाका स्वास्थ्य प्रमुख जयन्ती बिसीले जानकारी गराए । ‘अझै लुकेको हुन सक्ने सम्भावना भएकाले जनप्रतिनिधिहरु खोज्ने अभियानमै हुनुहुन्छ,’ बिसीले भने, ‘लम्कीका दुई नागरिकमा कोभिड –१९ संक्रमण देखिएपछि झन् त्रास बढेको छ । हामीले सम्पर्कमा नआएका नागरिक पनि खोज्न थालेका हौं ।’

यता कैलालीको धनगढीपछि ठूलो जनसंख्या भएको नगरपालिका टीकापुरमा पनि मंगलबारदेखि अभियान शुरु भएको स्वास्थ्य प्रमुख बलबहादुर रावलले जानकारी दिए । रावलका अनुसार टोली बनाएर स्वास्थ्यकर्मी र स्वयंसेविका गरी २५४ जना परिचालन गरिएको छ ।

परिचालित स्वास्थ्यकर्मी र स्वयंसेविकाले विदेशबाट आएका व्यक्तिको तथ्यांक संकलन गर्ने, साबुनपानीले हात धुन सिकाउने र साबुन वितरण गर्ने जनाइएको छ । यसबाहेक विदेशबाट आएकाहरुलाई सेल्फ क्वारेण्टाइनमा बस्न अनुरोध गर्ने तथा कोभिड– १९ का लक्षण तथा बच्ने उपायबारे जानकारी गराउनेछन् । तीन दिनभित्र तथ्यांक संकलन गर्ने रणनीतिअनुसार काम शुरु गरिएको स्वास्थ्य शाखा संयोजक रावलले बताए ।

‘तीन सय ३० जना विदेशबाट आएकाहरुको तथ्यांक टीकापुर नगरपालिकासँग छ । यसको दोब्बर संख्या हुन सक्ने अनुमान हाम्रो छ ‘, रावलले भने,’तथ्यांक संकलनपछि र्‍यापिड टेष्ट गरिने छ ।’ नगरपालिकामा ६० जनाको र्‍यापिड टेष्ट र ३७ जनाको स्वाब परीक्षण भइसकेको छ ।

कैलालीमा त्रास

सोमबार कैलालीको लम्कीमा थप एक जनामा कोरोनाको नयाँ संक्रमण फेला परेपछि यहाँका नागरिक त्रस्त छन् । लम्कीमा संक्रमण देखिएकी ६५ वर्षीया १७ जनाको टोलीसहित जिल्ला प्रशासन कार्यालय पर्साको सिफारिसमा केही दिनअघि लम्की पुगेकी थिइन् । लम्की चुहा नगरपालिकास्थित लम्की बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा उनीहरुलाई राखिएको थियो ।

उनीहरु नेपाल र भारतको वीरगञ्ज नाकामा सडकमा बसेर चिया बेच्ने काम गर्नेहरु भएको बताइन्छ । तीमध्ये केही लम्कीको भुरुवा निवासी हुन् भने केही त्यहाँ घर नभएका रहेको पनि बताइन्छ । सोमबार कोरोना संक्रमण पुष्टि भएकी महिला वीरगञ्ज नाका नजीक चिया बेच्ने काममा संलग्न रहेको बताइन्छ ।

क्वारेन्टाइनमा बसेकै बेला त्यहाँ रहेका सबैको र्‍यापिड टेष्ट गरिएको नगरपालिकाले जनाएको छ । क्वारेन्टाइनमा रहेका सबैको र्‍यापिड टेष्ट नेगेटिभ आए पनि स्वाबको पिसिआर टेष्टका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको नमूना पोजेटिभ आएपछि संक्रमित महिलालाई धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ ।

क्वारेन्टाइनमा बसेकाहरुको र्‍यापिड टेष्ट नेगेटिभ आएपछि नयाँ वर्ष मनाउन घर जान पाउनुपर्ने माग गर्न थालेकाले उनीहरुलाई पिसिआरको रिपोर्ट नआउँदै गत चैत २९ गते घर पठाइएको नगरपालिकाले जनाएको छ ।

ती महिलाको अवस्था सामान्य रहेको सेती प्रादेशिक अस्पतालका डा जगदीश जोशीले बताए । संक्रमितसँग क्वारेन्टाइनबाट घर पठाइएका बाँकी १६ जनालाई समेत सोमबार फेरि क्याम्पसकै क्वारेन्टाइनमा राखिएको छ ।

संक्रमितको लम्कीमा घर नभएको र आफन्तका घरमा गएको बुझिएको छ । संक्रमित क्वारेन्टाइनबाट फर्किएपछि उहांँ बसेका आफन्तको घर र अरु सम्पर्क भएकाहरुको पहिचान भइरहेको छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राखिने वडाध्यक्ष जनक बमले जानकारी दिए ।