देश/प्रदेश

सोलुखुम्बुबाट पैदल हिँडेर सुदूरपश्चिम जान लागेका मजदुरको बुटवलबाट उद्दार

By खबरहब

April 14, 2020

बुटवल– कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोक्न मुलुकमा जारी तेस्रो चरणको लकडाउनका बेला गन्तवयमा पुग्न पैदल यात्रा गर्दै बुटवल आएका मजदूरको उद्धार गरिएको छ । कर्णाली र सुदूर पश्चिमका विभिन्न जिल्लाका १२० मजदूर ११ दिन लगाएर पैदलै हिँडी सोमबार राति बुटवलसम्म आएका छन् ।

उनीहरुले नियमित मजदूरी गर्दै आएको ठाउँमा काम रोकिएको, दैनिक खर्च सकिएको र काम खुल्ने कुनै टुङ्गो नभएपछि सामूहिकरुपमा घर जान हिँड्दा बुटवल आइपुगेका थिए । सोमबार राति करीब ९ बजे बुटवल आइपुगेका मजदूरलाई बुटवल उपमहानगरपालिकाले निःशुल्क खानाको व्यवस्था गरेको थियो । उनीहरुको राति नै स्वास्थ्य जाँच गरेर बसमा गन्तव्यसम्म पठाउने व्यवस्था मिलाइएको थियो ।

सोलुखुम्बुदेखि दोलखा, स्याङ्जा हुँदै उनीहरु बुटवलसम्म आइपुगेको राति सूचना पाएपछि उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले तत्कालै उनीहरु पुगेका स्थान वडा नं १ वडााध्यक्ष महेन्द्र लिगलसँग सम्पर्क गरेर खानाको व्यवस्थापन गर्न निर्देशन दिएका थिए । बुटवल–१ स्थित लायन्स आँखा अस्पताल परिसरमा उनीहरुलाई खाना खुवाउने प्रबन्ध मिलाइएको थियो । त्यहीँ नै उनीहरुको स्वास्थ्य जाँच गरेर तीन बसमा चढाएर पठाइएको थियो ।

पैदल आएका मजदूर दाङ, कैलाली, सुर्खेत, बर्दिया, कञ्चनपुर र डोटी घर भएका हुन् । उनीहरु सोलुखुम्बु, काठमाडौं, काभ्रेपलाञ्चोक र नारायणघाटमा विभिन्न क्षेत्रमा मजदूरी गर्दै आएको बताएका छन् । उनीहरु पैदल यात्राका क्रममा बुटवलमा भेटिएका थिए ।

पैदलयात्री सबैलाई खाना खुवाएर, स्वास्थ्य जाँच गरेपछि घरसम्म पुर्‍याउन यातायातको समेत व्यवस्था मिलाइएको उपमहानगरपालिका प्रमुख सुवेदीले बताए । लामो समयदेखि पैदल हिँडेको, कैयौँ दिनसम्म खाना समेत खान नपाएको र बेखर्ची जस्तै बनेर हिँडेको देखेपछि खाना तथा यातायातको व्यवस्था मिलाइएको वडाध्यक्ष लिगलले बताए ।

बुटवलमा गरिएको परोपकारले घरैको जस्तो याद आएको र थकाइसमेत मेटिएको श्रमिक हरिबहादुर चन्दले दिए । बर्दिया घर भएका उनी साथीहरुसँगै सोलुखुम्बुबाट हिँडेर आएका थिए । काठमाडौंबाट हिँडेर आएका कञ्चनपुरका छोटेलाल चौधरी र रामकिशन राना तथा बैतडीका अमबहादुर अवस्थीले पनि बुटवलमा भएको व्यवस्थाले अहिलेसम्मको पीडा भुलेको बताए ।

मजदूरलाई बुटवलमा खाना खुवाएर गन्तव्यसम्मै पुर्‍याउने ब्यवस्था गरेर नगरपालिकाले राम्रो काम गरेको बटौली संरक्षण तथा सम्बद्र्धन समितिका संयोजक रवीन्द्रगोपाल लाकौलले बताए ।