समाचार

गोदावरी सडक पुससम्म सम्पन्न गरिने

By खबरहब

November 14, 2020

ललितपुर – ललितपुरको हात्तीवनबाट गोदावरी कुण्डसम्मको सडक निर्माण अबको दुई महिनाभित्र सम्पन्न गरिने भएको छ । निर्माण व्यवसायीले नियमित निर्माणस्थलमा काम गरिरहेकाले बाँकी अवधिमा काम सकिने काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले जनाएको छ ।

यो सडक दुई ठेक्कामा निर्माण भइरहेको र दुवैको अवधि आगामी पुससम्म मात्रै भएको आयोजना प्रमुख गुरु अधिकारीले बताए ।

उनका अनुसार, सरकारले २० मिटर चौडाइ कायम गर्ने गरी निर्माण शुरु गरे पनि स्थानीयवासीको विरोधका कारण लामो समयसम्म काम हुन सकेको थिएन । गत पुसमा मन्त्रिपरिषद्को बैठकले विस्तारित सडक उपलब्ध चौडाइमा नै कालोपत्र गर्ने निर्णय गरेपछि सोही अनुसार काम भइरहेको छ ।

उनले भने, “२० मिटर चौडाइ हुनुपर्ने भए पनि अधिकांश स्थानमा त्योभन्दा कम चौडाइमा काम भइरहेको छ ।”

निर्माण शुरु भएको लामो समय भएको र पटकपटक अवधि थप भए पनि कानूनी रुपमा पुनः अवधि थप्न मिल्दैन । मापदण्डभन्दा कम चौडाइमा कालोपत्र भएपछि अरू संरचना भने भविष्यमा निर्माण गर्ने गरी निर्माण अघि बढाइएको छ ।

उनले भने, “कतै साढे तीन मिटर चौडाइ कायम भए पनि हामीले समयमै ठेक्का सम्पन्न गर्न लागेका छौँ ।”

सात दशमलव छ किलोमिटर लम्बाइको यो सडक निर्माणको ठेक्का सम्झौता विसं २०७३ असारमा भएको आयोजनाले जनाएको छ । यो सडक निर्माणको काम आयोजनाले आशिष सिएम जेभी र लामा समानान्तर जेभीले गरिरहेको छ ।

यो सडक जस्तै उपत्यकामा १० सडक निर्माणाधीन छन् । तीमध्ये अधिकांशमा जग्गा र घरको मुआब्जा विवादका कारण निर्माणमा ढिलाइ भएको थियो । उपलब्ध चौडाइमै कालोपत्र गर्ने सरकारको निर्णयपछि भने अहिले अधिकांश सडकमा निर्माण अघि बढेको छ ।