राजनीति

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तुरुन्त खारेज होस्– प्रचण्ड

By खबरहब

December 15, 2020

काठमाडौँ– सरकारले संवैधानिक परिषदसम्बन्धी अध्यादेश जारी गरेपछि सत्तारुढ दल नेकपाभित्र थप विवाद चर्कने सम्भावना देखिएको छ ।

पार्टीका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विना छलफल ल्याइएको अध्यादेश तुरुन्त खारेज गर्नुपर्ने माग गरेका छन् ।

प्रचण्डले पार्टीभित्र छलफल नै नगरी ल्याइएको अध्यादेश मान्य नहुने बताएका छन् । उनले सबै पार्टीले संसदको अधिवेशन बोलाउन माग गरिरहेका बेला अध्यादेश ल्याउनु लोकतन्त्रको उपहास हुने बताए ।

प्रचण्डले यो अध्यादेश असंवैधानिक, परिवर्तनविरोधी र कुनियतका साथ आएको प्रतिक्रिया दिएका छन् ।

त्यस्तै नेकपाका अर्का नेता जनार्दश शर्मा प्रभाकरले पनि अध्यादेशको विरोध गरेका छन् । सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गर्दै उनले अध्यादेश फिर्ता गर्न माग गरेका छन् । उनले लेखेका छन्, ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।।’

फेरि अध्यादेश !
सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल, सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थिति बाट मुक्त होऔ ! अध्यादेश फिर्ता गर ।।

— Janardan Sharma (@JSPrabhakar) December 15, 2020

राष्ट्रपतिबाट संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी भएको छ । मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले उक्त अध्यादेश जारी गरेकी हुन्।

राष्ट्रपति भण्डारीले संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषदको सिफारिसमा अध्यादेश जारी गरेकी हुन्।