पोर्चुगलमा कोरोनाको आशंका गरिएका नेपालीलाई यसरी राखिएको छ क्वारेन्टाइनमा (फोटो फिचर)

By खबरहब

March 16, 2020

लिस्बन– पोर्चुगलमा कोरोना भाइरस संक्रमणको आशंकामा ६० जना नेपालीलाई क्वारेन्टाइनमा राखिएको छ ।

दक्षिणी पोर्चुगलको फारो शहर नजिकै नेपालीहरुको समूहमा कोरोना भाइरसको संक्रमण देखा परेको हो । यसअघि ७४ नेपालीहरुलाई क्वारेन्टाइनमा राखिएको जनाइए पनि पछि १४ जनालाई बाहिर जान दिइएको थियो ।

नेपालीको समूहमा रहेका ६ जनामा कोरोना भाइरसको लक्षण देखिएपछि उनीहरुको स्वास्थ्य परीक्षण गर्दा एक जनामा कोरोना संक्रमण पुष्टि समेत भएको जनाइएको छ । उनको फारोस्थित अस्पतालमा उपचार भइरहेको छ ।

कृषि क्षेत्रमा काम गर्नका लागि वैदेशिक रोजगारीमा त्यहाँ पुगेका नेपालीहरुलाई कोरोना भाइरसको आशंकामा क्वारेन्टाइनमा राखिएको पोर्चुगिज सञ्चारमाध्यमले जनाएका छन् ।

उनीहरुलाई सार्वजनिक सुरक्षा प्रहरीको रोहबरमा एक विद्यालय परिसरमा क्वारेन्टाइनमा राखिएको जनाइएको छ ।

पोर्चुगलमा हालसम्म २ सय ४५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

तस्वीर साभार-भ्वाइस अफ नेपाल