मुम्बई – भारतमा कोरोना भाइरसको महामारी फैलिरहेको छ । सरकारले गरेको लकडाउनका कारण भाइरस फैलिनमा केही मत्थर भए पनि मजदुरहरु क्वारेन्टाइनबाट भाग्ने र सडकमा भेला हुने गरिरहेका छन् ।
भारतमा केही दिनअघि केही व्यक्तिले कोरोना जाँच गर्न आएका डाक्टरमाथि नै हमला गरेका थिए । यो घटना सार्वजनिक भएपछि धेरैले विरोध गरेका थिए । बलिउड अभिनेता सलमान खानले पनि डाक्टरमाथि हातपात गर्नेप्रति आक्रोश व्यक्त गरेका छन् । उनले केही जोकरका कारण भारतमा कोरोना फैलिएको समेत टिप्पणी गरेका छन् ।
सलमानले हालै एक भिडियो सार्वजनिक गर्दै लकडाउनको अवज्ञा गर्नेमाथि खनिएका हुन् । डाक्टरमाथि केही व्यक्तिले हमला गरेको विषयमा सलमान खान दुःखी पनि देखिएका छन् । उनले सबैलाई सरकारको सल्लाह मानेर सावधानी अपनाउन आग्रह गरेका छन् ।
उनले भनका छन् – यदि कसैलाई नमाज पढ्नु छ भने घरमै पढ्नुस्, पूजा गर्नु छ भने पनि घरमै गर्नुस् ।
सलमानले सरकारको समर्थन गर्दै शेयर गरेको यो भिडियोलाई सामाजिक सञ्जालमा भाइरल बनाइएको छ । साथै उनले कोरोनाबाट जोगिनका लागि घरमै रहन सबैलाई अनुरोध गरेका छन् ।
सलमानले कोरोनासँगको लडाइँका लागि मजदूरलाई आर्थिक सहयोग पनि गरिरहेका छन् ।