मनोरञ्जन

मेरा कारणले मात्र फिल्म फ्लप हुने होइन: मिरुना

By खबरहब

April 17, 2020

काठमाडौं – नायिका मिरुना मगरका लागि वर्ष २०७६ खासै सफल रहेन । उनले अभिनय गरेका फिल्म ‘चचहुई’ र ‘साइनो’ ले व्यावसायिक सफलता हात पार्न सकेनन् । त्यसो त मिरुनाले अभिनय गरेका कुनै फिल्मले राम्रो कमाइ गरेका छैनन् ।

मिरुनाले अभिनय गरेका फिल्म ‘लालपुर्जा’ र ‘रोज’ पनि फ्लप भए । मिरुना भने आफ्नो कारणले कुनै फिल्म फ्लप नभएको बताउँछिन् । खबरहबसँगको कुराकानीमा मिरुनाले भनिन् – ‘मेरो कारणले फिल्म फ्लप हुने होइन ।’

पछिल्लो समय प्रदर्शनमा आएको फिल्म ‘चचहुई’ बाट मिरुना आशावादी थिइन् । तर, यो फिल्मले पनि मिरुनालाई चर्चा दिलाउन सकेन ।

‘मलाई कतिजनाले यस्तै म्यासेज गर्नुहुन्छ, तपाईंको कारणले फिल्म फ्लप भएको होइन भन्दै म्यासेज गर्नुहुन्छ,’ मिरुनाले भनिन्, ‘मैले पनि फिल्मका लागि त मेहनत गरेकै हुन्छु ।’

साथै उनले फिल्मको स्किृप्ट राम्रो लागेर फिल्ममा काम गरेको बताइन् । मिरुनाले रोजेका सबै स्किृप्टमा फिल्म चाहिँ राम्रा बन्न सकेनन् ।

मिरुना भने फिल्मी क्षेत्रमा आफ्नो करिअर राम्रो हुँदै जानेमा आशावादी छिन् । फरक टिमसँग काम गर्दा उनलाई रमाइलो पनि लागेको छ ।

‘मलाई यो क्षेत्रमा एकैपटक माथि पुगौं भन्दा पनि स्टेप बाइ स्टेप काम गर्न मन थियो, त्यही भइरहेको छ जस्तो लाग्छ,’ उनले भनिन् ।