पर्यटन

ओमानका पर्यटनमन्त्रीले गरे नेपालको साँस्कृतिक विविधताको प्रशंसा

By योगेन्द्र योगी

September 17, 2020

दोहा- ओमानका लागि नेपाली राजदूत सर्मिला पराजुली ढकाल र त्यहाँका सम्पदा तथा पर्यटनमन्त्री स्यालिम विन मोहम्मद अल मरहुक्कीबीच भेटवार्ता भएको छ ।

मन्त्री अल मर‌हुक्कीको कार्यकक्षमा भएको भेटमा राजदूत ढकालले सम्पदा तथा पर्यटन मन्त्रीको रूपमा नियुक्त भएकोमा मन्त्रीलाई बधाई तथा शुभकामना दिइन ।

राजदूत ढकालले पर्यटन मन्त्रीसँगको भेटमा नेपालको सांस्कृितक तथा प्राकृतिक सम्पदाका बारेमा जानकारी दिएकी थिइन । उनले  पछिल्लो दिनमा ओमानबाट जाने पर्यटकको संख्यामा वृद्धि भएको जानकारी गराउदै आगामी दिनमा समेत मन्त्रीलगायत ओमान सरकारबाट पर्यटन प्रबर्द्धनमा सहकार्यका लागि अनुरोध गरिन ।

मन्त्री अल मर‌हुक्कीले नेपालको प्राकृतिक सम्पदा एवम् साँस्कृतिक विविधताको खुलेर प्रशंसा गर्दै आगामी दिनमा पर्यटनको क्षेत्रमा सहकार्य गर्न तत्पर रहेको प्रतिवद्धता व्यक्त गरे ।

उनले गत डिसेम्बरमा भएको संग्रहालय सम्बन्धी सम्झौताबारे प्रसन्नता जाहेर गर्दै निकट भविष्यमा नै पर्यटन क्षेत्रमा पनि एक सम्झौतामा हस्ताक्षर हुने विश्वास व्यक्त गरेको राजदूत ढकालले बताइन् ।

मन्त्री अल मरहुक्कीले ओमानको पर्यटन प्रबर्द्धनमा नेपाली जनशक्तिको विशेषगरी हस्पिटलिटीको क्षेत्रमा राम्रो योगदान रहेको उल्लेख गरेका थिए ।

छलफलमा सम्पदा तथा पर्यटन मन्त्रालयका अन्य उच्च पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।