लमजुङको क्वारेन्टाइनमा राखिएका युवा फरार

By खबरहब

April 20, 2020

लमजुङ – लमजुङको बेसीशहर नगरपालिका ७ सहजीको क्वारेन्टाइनमा बसेका युवा फरार भएका छन् ।

चितवनबाट साइकलमा बेसीशहर आएका बेसीशहर नगरपालिका ६ पुमागाउँका पूर्णबहादुर मिजार फरार भएका हुन् ।

आइतबार क्वारेन्टाइनमा राखिएका उनी सोही दिन क्वारेन्टाइनबाट भागेपछि नगरप्रहरीले खोजी तीव्र बनाएको बेसीशहर नगरपालिकाका नगरप्रमुख गुमानसिंह अर्यालले बताए ।

कोरोना भाइरसको संक्रमण रोक्न लागु गरिएको लकडाउनका बेला घरमा आमा र बहिनी बिरामी भएको भन्दै चितवनबाट बेसीशहर आएका १८ वर्षीय मिजार क्वारेन्टाइनबाट सम्पर्कबिहीन भएपछि उनको खोजि तीब्र पारिएको नगरप्रमुख अर्यालको भनाई छ ।

बाहिरी जिल्लाबाट आएकाले उनलाई क्वारेन्टाइनमा राखिएको र भागेपछि घरमै प्रहरी पुग्दा त्यहाँबाट पनि जंगलतिर भागेकाले  अहिलेसम्म नभेटिएको मेयर अर्यालले बताए ।

हाल उक्त क्वारेन्टाइनमा नौ जना छन् ।  उक्त क्वारेन्टाइनमा सशस्त्र प्रहरी र नेपाल प्रहरीका दुईदुई जना सुरक्षकर्मी सुरक्षाकर्मी पनि खटिएका छन् ।