समाचार

सरकारको अनुमति बिना स्वदेश आएका ६३ नेपाली भक्तपुरको क्वारेन्टाइनमा

By खबरहब

March 21, 2020

काठमाडौं– नेपाल सरकारको अनुमति विना विभिन्न देशबाट स्वदेश फर्किएका ६३ नेपालीलाई शनिबार १४ दिनका लागि क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

अध्यागमन विभागका अनुसार सरकारले प्रतिबन्ध लगाउँदा लगाउँदै विभिन्न देशबाट ६३ जना नेपालीहरु स्वदेश फर्किएका थिए ।

विश्वव्यापी महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम कम गर्न सरकारले युरोपका सबै मुलुक, पश्चिम एसिया, खाडीका मुलुक, इरान, टर्की, दक्षिण कोरिया र जापानबाट आउने स्वदेशी तथा विदेशीहरुलाई प्रवेशमा प्रतिबन्ध लगाएको थियो ।

तर, विभिन्न विमान कम्पनीहरुले नेपाल सरकारले लगाएको प्रतिबन्धको वेवास्ता गर्दै ५ महिलासहित ६३ नेपालीलाई काठमाडौं पुर्‍याएका थिए ।

उनीहरुलाई शनिबार साझा यातायातका २ वटा बसमा राखेर भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालय स्रोतले जानकारी दिएको छ ।