तस्वीर- एयू/यूएन

अन्तर्राष्ट्रिय

दक्षिणी सोमालियामा सेनाको कारबाही, १८ लडाकू मारिए

By खबरहब

October 21, 2020

एजेन्सी- सोमालियाको सरकारी फौजले गरेको सुरक्षा कारबाहीमा कम्तीमा १८ लडाकूको मृत्यु भएको छ ।

एक सैनिक अधिकारीका अनुसार लोअर शाबेलेको बारिरे भन्ने शहरको बाहिरी इलाकामा सरकारी फौजले कारबाही गर्दा विद्रोही अल–शबाबमा आबद्ध कम्तीमा १८ लडाकू मारिएका हुन् ।

विद्रोहीहरु लुकेर बसेको भन्ने स्थानीयबासीको सूचनाका आधारमा सेनाले कारबाही गरेको सरकारी सेनाका कमान्डर अहमद हस्सन जियादले जानकारी दिए ।

विद्रोहीले शसक्त प्रतिकार गरेका भए पनि उनीहरु परास्त भएको कमान्डर जियादले बताए । लोअर शाबेले क्षेत्रमा विद्रोहीका कमान्डर सिडो नुरे अबु मुहसिन पनि मारिएको उनले जानकारी दिए ।

हालैका महिनाहरुमा सोमालियाको सरकारी फौजले मध्य र दक्षिणी क्षेत्रमा अल–शबाब विद्रोही समूह विरुद्ध आक्रामक कारबाही गरिरहेको छ ।