देश/प्रदेश

पर्यटन मन्त्री भट्टराई सहभागी बैठकमा जब पोर्न भिडियो बज्यो !

By खबरहब

June 22, 2020

काठमाडौं- कोरोना भाइरसको संक्रमण फैलन नदिन गरिएको लकडाउन र सामाजिक दूरी राखेर अत्यावश्यक काम भइरहेका छन् । सँगै अनलाइनबाट बैठकहरु पनि जारी छन् ।

सरकारी स्तरका बैठक र वार्ता पनि अनलाइनबाटै सञ्चालन भइरहेका छन् । बैठकमा हुने छलफल विषयवस्तुमा केन्द्रित हुँदा सामान्य नै लाग्छ तर अपेक्षाा नै नगरेको विषयले बैठकमा प्रवेश पायो भने के होला । त्यसमा पनि अश्लील कुरा एक्कासी आए के होला ?

यो टाढाको खबर र विषय होइन हाम्रै संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेश भट्टराई सहभागी भर्चुअल बैठकमा घटेको घटना हो । अर्थात मन्त्री भट्टराई सहभागी अनलाइन बैठकमा एक्कासी पोर्न भिडियो बजेको छ ।

जुममार्फत गरिएको बैठकमा मन्त्री भट्टराई बोलिरहेकै समयमा एक्कासी अनधिकृतरुपमा ह्यारिस नामका व्यक्ति प्रवेश गरेर पोर्न भिडियो प्ले गरेका थिए ।

नेपाल पर्यटन बोर्डले सुरक्षा निर्देशिका सार्वजनिक गर्न आयोजना गरेको बैठकमा मन्त्री भट्टराई बोल्दाबोल्दै पोर्न भिडियो बजेको मन्त्री निकट स्रोतले जनाएको छ ।

मन्त्रीसहित झण्डै २ सय जना सहभागी बैठकमा पोर्न भिडियो प्ले भएपछि एडमिनले तत्काल नै भर्चुअल बैठक अन्त्य गरेको मन्त्रालयका एक अधिकारीले जानकारी दिएका छन् ।

प्रहरीको साइबर सेलले यो विषयमा अनुसन्धान सुरु गरिसकेको छ ।