दीपक मनाङेविरुद्ध अभद्र व्यवहारको मुद्दा, पक्राउ पूर्जीका लागि प्रशासनमा निवेदन

By खबरहब

January 23, 2020

पोखरा– गण्डकी प्रदेशसभा सदस्य (सांसद) राजीव गुरुङ (दीपक मनाङे)विरुद्ध कास्की प्रहरीले अभद्र व्यवहारको कसुरमा मुद्दा प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी राजकुमार केसीका अनुसार मनाङेविरुद्ध पक्राउ पूर्जी जारीका लागि जिल्ला प्रशासन कार्यालय कास्कीमा निवेदन दिइएको छ ।

‘अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष (मिलन गुरुङ)को नामबाट दायर भएको उजुरीका आधारमा हामीले मुद्दा प्रक्रिया अगाडि बढाएको छौं,’ जिल्ला प्रहरी कार्यालय कास्कीका डिएसपी केसीले भने, ‘अभद्र व्यवहारको कसुरमा मुद्दा चलाउनका लागि नियन्त्रणमा लिनपर्ने भएकाले पक्राउ पूर्जीका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छौं । पक्राउ पूर्जी जारी भएपछि पक्राउ गर्छौं ।’

अखिल नेपाल फुटबल संघ (एन्फा) कास्कीका अध्यक्ष गुरुङले आफूमाथि कुटपिट गरेको भन्दै मनाङेविरुद्ध उजुरी दिएका छन् ।

पोखरामा जारी मुख्यमन्त्री कप (फुटबल) प्रतियोगिताको उद्घाटन कार्यक्रममै मनाङले गुरुङमाथि हातपात गरेका थिए ।

मनाङेबाट कुटिएको गुरुङले बुधबार जिल्ला प्रहरी कार्यालय कास्कीमा उजुरी दिएका थिए ।