समाचार

नेपालमा क्रिकेट रंगशाला बनाउन कतारको चासो

By खबरहब

February 24, 2020

काठमाडौं– नेपालका लागि प्रमुख श्रम बजार रहेको कतारले नेपालमा क्रिकेट रंगशाला निर्माणमा चासो देखाएको छ ।

नेपालका लागि कताकार राजदूत युसुफ बिन मोहम्मद अल हेलले कतारमा नेपालमा क्रिकेट रंगशाला निर्माणका लागि इच्छुक रहेको बताएका छन् ।

सोमबार संघीय संसदका सभामुख अग्नि सापकोटासँगको शिष्टाचार भेटवार्ताका क्रममा राजदूत युसुफले नेपालको विमानस्थल सुधारका सहयोग गर्न र क्रिकेट रंगशाला निर्माणमा कतार इच्छुक रहेको बताएका हुन् ।

सिंहदरबारस्थित संघीय संसद सचिवालयमा सोमबार भएको भेटमा राजदूत युसुफले नवनिर्वाचित सभामुख सापकोटालाई बधाई समेत ज्ञापन गरे ।

सभामुख सापकोटाले विगत ४२ वर्षदेखि नेपाल र कतारबीच मित्रवत सम्बन्ध रहेको स्मरण गर्दै यस्ता भेटले दुई देशबीचको सम्बन्ध थप सुदृढ हुने विश्वास व्यक्त गरे । भ्रमण वर्ष २०२० का लागि सहयोग गर्न कतारले जनाएको प्रतिवद्धताप्रति पनि सभामुख सापकोटाले कृतज्ञता जनाए ।

सभामुख सापकोटाले सन् २०२२ को विश्वकप फुटबलको सफल आयोजनका लागि पनि कतारलाई शुभकामना दिए । जवाफमा राजदूत युसुफले कतारले विश्वकप आयोजना गर्ने अवस्थासम्म पु¥याउनका लागि नेपाली श्रमिकको ठूलो योगदान रहेको स्मरण गरे ।