कोरोना भाइरस संक्रमित टेलिभिजन पत्रकारको मृत्यु

By खबरहब

March 24, 2020

एजेन्सी- जिम्बाब्वेमा कोरोनाभाइरसको संक्रमणबाट एक जना टेलिभिजन पत्रकारको मृत्यु भएको छ ।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणका कारण जिम्बाब्वेमा ३० वर्षीय टेलिभिजन पत्रकारको ज्यान गएको हो । उनी कोरोना भाइरसका कारण जिम्बाब्वेमा ज्यान गुमाउने पहिलो व्यक्ति पनि हुन् ।

कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि पत्रकार जोरोरो माकम्बालाई गएको बिहीबार अस्पताल भर्ना गरिएको थयो । उनको सोमबार ज्यान गएको जिम्बाब्वेका स्वास्थ्य मन्त्रीले जानकारी दिएका छन् ।

ती पत्रकार निमोनियाका समेत बिरामी थिए । यस्तै गएको वर्ष उनको छातीबाट ट्युमर पनि निकालिएको थियो । ज्यान गुमाउने माकम्बाका साथी बिम्बई मुथिनहिरीले भनेकी छिन्, ‘उनि मेरो भाइ जस्तै थिए र अफ्रिकाको आउँदो पुस्ताको बारेमा खुब ध्यान दिन्थे, तर हामीले उनलाई गुमाएका छौँ ।’

जिम्बाब्वेमा हालसम्म कोरोना भाइरसको संक्रमण तीन जनामा देखिएको छ जसमध्ये एक जनाको ज्यान गएको छ भने अन्य दुई जना उपचाररत रहेको जनाइएको छ ।