अन्तर्राष्ट्रिय

अमेरिकामा कोरोनाको दैनिक मृत्युदर र संक्रमण कम हुँदै

By खबरहब

August 24, 2020

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको संक्रमणले भइरहेको दैनिक मृत्युदरमा कमी आएको छ ।

तथ्याङ्क अद्यावधिक गरिरहेको साइट वर्ल्डोमिटर्सका अनुसार आइतबारको तुलनामा सोमबार अमेरिकामा कोरोनाले मृत्यु हुनेको संख्या ५३८ ले कम छ ।

अमेरिकामा आइतबार ९६८  जनाको कोरोना भाइरसको संक्रमणले मृत्यु भएकोमा सोमबार ४३० जनाको मृत्यु भएको छ ।

योसँगै सोमबार बिहान यो समाचार तयार पार्दासम्म अमेरिकामा कोरोना संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ८० हजार ६०४ पुगेको छ ।

यस्तै संक्रमण दरमा पनि कमी आएको छ । तीन दिनअघि ४८ हजार ५१७ जनामा संक्रमण देखिएकोमा आइतबार ४३ हजार ६१२ जनामा संक्रमण पुष्टि भएको थियो ।

सोमबारको तथ्यांकअनुसार पछिल्लो २४ घण्टामा ३२ हजार ७१८ जनामा संक्रमण देखिएको छ । यो अघिल्लो दिनको तुलनामा १० हजार ८९४  कम हो ।

अमेरिकामा अहिलेसम्म कोरोना संक्रमित संख्या ५८ लाख ७४ हजार १४६ पुगेको छ।

संक्रमितमध्ये अहिलेसम्म ३१ लाख ६७ हजार ६३ जना संक्रमणमुक्त भएका छन् ।

उपचार गराइरहेका २५ लाख २६ हजार ४७९ जनामध्ये १६ हजार ७१७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ ।