देश/प्रदेश

भैरहवाको भीम अस्पतालमा कोरोना संक्रमित एक बिरामीको मृत्यु

By खबरहब

August 25, 2020

बुटवल– रुपन्देहीको भैरहवास्थित भीम अस्पताल कोरोना संक्रमित एक बिरामीको मृत्यु भएको छ ।

रुपन्देहीको गैडहावा–३ का ५० वर्षीय एक पुरुषलाई सोमबार साँझ ५ बजेतिर भीम अस्पताल पुर्‍याएको थियो । अस्पताल पुगेको ३ घण्टापछि उनलाई भर्ना लिएकोमा राति नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई भदौ ५ गते कोरोना पोजेटिभ देखिएको थियो । घर बनाउने मिस्त्रीको काम गर्ने ती पुरुष छतबाट लडेर टाउकोमा चोट लागेका कारण उपचारका लागि भैरहवा स्थित युनिभर्सल मेडिकल कलेज गएका थिए । त्यहाँ कोरोना जाँच गर्दा पोजेटिभ देखिएको थियो । कोरोना पोजेटिभ आएपछि मेडिकल कलेजले उनलाई भीम अस्पताल पठाएको थियो ।

उनका दाजुले अस्पतालले उपचार गर्न ढिलो गरेका कारण भाइको मृत्यु भएको भन्दै गुनासो गरेका छन् । उनले भने, ‘समयमै भर्ना लिएर आइसियुमा उपचार गरेको भए भाइ बाँच्ने थियो ।’ अस्पतालमा ५ बटा आइसियु बेड भए पनि जनशक्ति अभाव रहेको अस्पतालले जनाएको पनि उनले बताए ।

भीम अस्पतालमा कोरोना संक्रमित ९८ जनाको सफल उपचार भएको र मृत्युको घटना पहिलो भएको अस्पतालले जनाएको छ ।