समाचार

आज काठमाडौंमा थपिए ८ कोरोना संक्रमित

By खबरहब

July 26, 2020

काठमाडौं- काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आइतबार स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्राडा. जागेश्वर गौतमले उपत्यकाका थप ८ जनामा कोरोना पुष्टि भएको बताए।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालमा दुई जना, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा तीन जना र स्टार अस्पताल ललितपुरमा तीन जनालाई कोभिड १९ संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

मन्त्रालयका अनुसार  ५४४० सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।