आर्थिक

इसेवा ११ औँ वर्षमा प्रवेश

By खबरहब

January 27, 2020

काठमाडौं– क्यासलेस अर्थतन्त्रको परिकल्पना गर्दै एक दशक अगाडि सञ्चालनमा आएको नेपालको पहिलो भुक्तानी सेवा प्रदायक ‘इसेवा’ ११ औँ वर्षमा प्रवेश गरेको छ ।

सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरु गरेको इसेवामा खाता खोल्नेको संख्या करिब ३० लाख पुगेको इसेवाले जनाएको छ ।

मोबाइल तथा इन्टरनेटको माध्यमबाट भुक्तानी गर्न सकिने सेवा दिँदै आएको इसेवा नेपालका हरेक नगरपालिका, गाउँपालिका तथा वडासम्म पुगेर क्यासलेस अर्थतन्त्रका निर्माण गर्ने सरकारको अभियानमा ठूलो योगदान दिन सफल भएको कम्पनीले जनाएको छ ।

हाल इसेवाका देशभर करिब ८० हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको जनाइएको छ । इसेवाको मोबाइल एप्स् डाउनलोड गर्नेको संख्या पनि करिब २० लाख पुगिसकेको इसेवाले जनाएको छ ।

इसेवाका प्रमुख कार्यकारी अधिकृत सुभास सापकोटाले एक दशक निकै उत्साहजनक रहेको बताए ।

कुराकानीका लागि मात्र सीमित मोबाइललाई वित्तीय कारोबार गर्नसक्ने बनाउन सफल भएका छौँ, उनले भने, आगामी दिनमा आम जनजीवनलाई सहज बनाउने खालका थप सेवा दिँदै जानेछौं । इसेवामा ४९ वटा बैंक तथा वित्तीय संस्था सदस्य रहेको कम्पनीले जनाएको छ ।