बलिउड/हलिउड

हलिउड अभिनेत्री हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन

By खबरहब

July 27, 2020

न्युयोर्क – हलिउड अभिनेत्री ओलिभिया डी हेविल्याण्डको निधन भएको छ । ‘गोल्डेन एज अफ हलिउड’ की स्टार मानिने हेविल्याण्डको १०४ वर्षको उमेरमा निधन भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

उनको पेरिसस्थित आफ्नो घरमा निधन भएको न्यूयोर्ककी प्रचारक लिजा गोल्बर्गले आइतबार पुष्टि गरिन् ।

हेभिल्याण्डले आफ्नो करिअरको ५० वर्षमा झण्डै ५० वटा फिचर फिल्ममा काम गरिन् । उनी दुईपटक ओस्कार अवार्ड पाएकी थिइन् ।

सन् १९६० देखि पेरिसमा बस्दै आएकी हेभिल्याण्ड ओस्कार विजेता जोन फोटेनकी बहिनी हुन् ।

हेभिल्याण्डले ‘गन विद विण्ड’ मा पनि अभिनय गरेकी थिइन् र सन् १९३९ मा रिलिज भएको यो फिल्मका कलाकारमध्ये उनीमात्र जीवित थिइन् ।

सन् १९१६ मा टोकियोमा जन्मेकी हेभिल्याण्डलाई उनकी आमा र बहिनीले क्यालिफोर्निया ल्याएका थिए ।

उनले आफ्नो जीवनकालमा दुई बिहे गरे पनि दुवै बिहे असफल भएका थिए ।