समाचार

लकडाउनको समयमा पनि मानिसहरु हिँडेको भन्दै स्थानीयवासीद्वारा बाटो बन्द

By खबरहब

March 28, 2020

पोखरा- लकडाउनका समयमा पोखरा महानगरपालिका–३३ स्थित बरभोटेनी हुँदै तनहुँ तथा स्याङ्जातर्फ आवतजावत गर्ने क्रम बढेपछि आज स्थानीयवासीले बाटो बन्द गरिदिएका छन् ।

साविक भरतपोखरी गाविसको वडा नं ५ र ६ को सिमानामा पर्ने बरभोटेनी हुँदै तनहुँको दुलेगौँडा, स्याङ्जाको प्युरीदोभानलगायतका स्थानका साथै ती स्थानबाट पोखराको छोरेपाटन निस्कने क्रम बढेपछि बरभोटेनीमा बाटोमा अस्थायी बार लगाएर आवतजावतमा रोक लगाइएको हो ।

लकडाउनको समयमा पनि पोखराको छोरेपाटनबाट दक्षिण–पश्चिम भेगको बैकल्पिक बाटो प्रयोग गरी दुलेगौँडा एवम् तनहुँका विभिन्न स्थानमा आवतजावत गर्ने क्रम बढेका कारण बाटो बन्द गर्न बाध्य भएको स्थानीयवासी मदन खड्का क्षेत्रीले बताए ।

आवतजावतमा रोक लगाउँदै स्थानीयवासीले बरपौवा टोल विकास संस्थाका नाममा सूचना जारी गरी कोरोना भाइरसको सङ्क्रमणलाई रोक्न बाटो बन्द गर्नुपरेको जनाइएको छ ।