देश/प्रदेश

ठगी आरोपित मिलन लामा धरौटी रकम तिर्न नसकेपछि जेल चलान

By खबरहब

February 29, 2020

नुवाकोट- लुटपाट तथा ठगी आरोपमा पक्राउ परेका नुवाकोटका मिलन लामा जेल चलान भएका छन् ।

ठगी आरोपमा शुक्रबार भएको थुनछेक बहसमा जिल्ला अदालत काठमाडौंले १० लाख रुपैयाँ धरौटी माग गरेको र यो रकम बुझाउन नसकेपछि लामालाई जेल चलान गरिएको महानगरीय प्रहरी वृत्त महाराजगञ्जले जानकारी दिएको छ ।

यस अघि लामा माघ २० गते काठमाडौंको बसुन्धराबाट लुटपाट गरी भागेका थिए । लामाले चेक तथा पैसा लुटपाट गरी ज्यान मार्नेसम्मको धम्की दिएर भागेको आरोपमा परेको जाहेरीका आधारमा प्रहरीले पक्राउ गरेको थियो ।

प्रहरीको फरार सूचीमा रहेका लामालाई महाराजगञ्ज प्रहरीले माघ २८ गते राति बसुन्धराबाट पक्राउ गरी अनुसन्धान गरेर जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा मुद्दा दायर गरेको थियो ।

गुण्डाका नाईके समेत रहेका लामा यस अघि पनि कर्तव्य ज्यान र हातहतियार खरखजाना मुद्दामा जेल जलान भइसेका व्यक्ति हुन् ।

नुवाकोटको तत्कालिन महाकाली गाविस हाल शिवपुरी गाउँपालिका स्थायी घर भएका लामा नेकपा नुवाकोटको जिल्ला कमिटि सदस्य समेत हुन् ।

लामा यस अघि २०६७ सालमा हातहतियार तथा खरखजाना मुद्दामा प्रहरी वृत्त बालाजु र २०७० सामा ज्यान मार्ने उद्योग अन्तर्गत प्रहरी वृत्त महाराजगञ्जले मुद्दा चलाई सजाय पाइसकेका अभियुक्त हुन् ।