औषधी/उपचार

प्रदेश १ मा शनिबार थप ११२ जनामा संक्रमण पुष्टि

By खबरहब

August 29, 2020

मोरङ – पछिल्लो २४ घण्टाको अवधिमा प्रदेश नं १ मा शनिबार ११२ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

संक्रमितमध्ये ३४ महिला, ७८ पुरुष छन् । थपिएका कोरोना संक्रमितमा मोरङमा ४७, सुनसरीमा २४, झापा र धनकुटामा १९/१९, संखुवासभामा दुई र प्रदेश बाहिरका एक रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा विराटनगरमा २१ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ । जसमा महिला १० र पुरुष ११ छन् । मन्त्रालयका अनुसार शनिबार थपिएका संक्रमितमा मोरङको कटहरीमा छ महिला, नौ पुरुष, पथरी शनिश्चरेमा सात पुरुष, सुन्दरहरैचामा एक महिला एक पुरुष, बेलबारी र सुनबर्सीमा एक/एक पुरुषको रिपोर्ट पोजेटिभ आएको छ ।

यस्तै, जिल्ला बाहिर सुनसरीको इटहरीमा दुई महिला र सात पुरुष, दुहवीमा तीन महिला र छ पुरुष, धरानमा दुई महिला र चार पुरुष, झापाको दमकमा सात महिला र नौ पुरुष, झापा गाउँपालिकामा एक महिला र दुई पुरुष, धनकुटाको धनकुटा नगरपालिकामा एक महिला र १८ पुरुष, सङ्खुवासभाको खाँदबारीमा दुई पुरुष तथा प्रदेश बाहिरकी एक महिलामा कोरोना सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेशमा हालसम्ममा कोरोनाबाट सङ्क्रमितको सङ्ख्या तीन हजार २१६ पुगेको छ ।

पछिल्लो २४ घण्टामा कोरोनामुक्त भएर नौ जना घर फर्केका छन् । घर फर्किनेमा झापा मेचीनगरको धाइजन आइसोलेसन केन्द्रका नौ जना छन् । योसँगै प्रदेश १ मा डिस्चार्ज हुनेको संख्या एक हजार ५२५ पुगेको छ ।