देश/प्रदेश

कोरोना भाइरसको संक्रमण रोक्न स्थानीय तह मिले २ करोडको कोष खडा

By खबरहब

March 30, 2020

माग्दी– कोरोना भाइरस (कोभिड–१९) को रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि म्याग्दीका ६ वटा स्थानीय तहहरुले २ करोड २९ लाखको कोष बनाएका छन् ।

जिल्लाको बेनी नगरपालिका, अन्नपूर्ण गाउँपालिका, रघुगंगा गाउँपालिका, मालिका गाउँपालिका र धैलागिरि गाउँपालिकाले छुट्टा छुट्टै रुपमा १ करोड ९ लाखको कोष बनाएका हुन् ।

बेनी नगरपालिकाले कोरोना रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि ५० लाखको कोष स्थापना गरेको छ भने अन्नपूर्ण गाउँपालिकाले ७० लाखको र धवलागिरि गाउँपालिकाले ५० लाखको कोष स्थापना गरेको सम्बन्धित गाउँपालिकाले जनाएको छ ।

त्यसैगरी उत्तरी म्याग्दीको रघुगंगा गाउँपालिकाले कोरोना विरुद्धको आकस्मिक कोषमा ३४ लाख जम्मा गर्नुका साथै प्रत्येक वडामा क्वारेन्टाइन समेत स्थापना गरेको छ । गाउँपालिका स्तरीय विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँपालिकाले ३४ लाखको कोष स्थापना गरेको हो ।

गाउँपालिका अध्यक्ष भवबहादुर भण्डारीको अध्यक्षतामा बसेको समितिको आकस्मिक बैठकले गाउँपालिकाबाट ३० लाख र अध्यक्ष भण्डारीको व्यक्तिगत ४ लाख गरि ३४ लाखको आकस्मिक कोष स्थापना गरिएको हो ।

गाउँपालिकाले विश्वव्यापी महामारीको रुप लिएको कोरोनाविरुद्ध जनचेतना अभिवृद्धि कार्यक्रमसंगै हरेक वडामा ५ बेड क्षमताको क्वारेनटाइन समेत निर्माण गर्ने भएको छ । ८ वटै वडामा क्वारेनटाइन बनाउनका लागि आवश्यक सामगी्र खरिद गरि तीन वटा टोली मार्फत सामान पुर्‍याउन थालिएको गाउँपालिकाका अध्यक्ष भण्डारीले जानकारी दिए ।

पश्चिम म्याग्दीको मालिका गाउँपालिकाले पनि कोभिड–१९ रोकथामका लागि २० लाखको कोष स्थापना गरेको गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद रोकामगरले जानकारी दिए ।