फाइल फोटो

समाचार

गण्डकीमा कोरोना संक्रमित बढ्दै, नवलपरासीपूर्व बढी जोखिममा

By नारायण पंगेनी

July 31, 2020

पोखरा- गण्डकी प्रदेशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण बढ्दै गइरहेको छ ।

गण्डकीमा १ हजार ४ सय ८५ जना संक्रमित रहेका छन् । पुरुष संक्रमितको तुलनामा महिला संक्रमित भने न्यून रहेको छ ।

अहिलेसम्म १ हजार ३०९ जना पुरुष संक्रमित हुँदा १ सय ७६ महिलामा संक्रमण पुष्टी भएको छ । जसमध्ये अहिलेसम्म १ हजार २ सय ४३ जना निको भइसकेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा चार जनाको मृत्यु भएको छ । कोरोनाका कारण स्याङजामा २ तथा बाग्लुङ र गोरखा जिल्लामा एक एक जनाको मृत्यु भएको छ ।

नवलपरासी पूर्वमा जोखिम बढी

गण्डकी प्रदेशको ११ जिल्ला मध्ये नवलपरासीपूर्व बढी प्रभावित छ ।

भारतसँगको सीमा नाका तथा पूर्वपश्चिम राजमार्गको मध्यबिन्दुमा पर्ने जिल्ला भएको हुँदा नागरिकको आवतजावत बढी हुँदा संक्रमण बढी भएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

सरकारले जिल्ला भित्र मात्रै सञ्चालन गर्न पाउने गरी सार्वजनिक सवारी साधान सञ्चालन गर्ने छुट दिए पनि रुपन्देहीको बुटवल तथा चितवनको नारायणघाटबाट निर्वाध रुपमा सवारी साधन सञ्चालन भइरहेको छ ।

यद्यपि पछिल्लो समय संक्रमण दर भने घटिरहेको छ । परीक्षणको दायरा घट्दै गएकाले पनि संक्रमण दर घटेको छ । ३ सय १५ जनालाई संक्रमण पुष्टी भएको नवलपरासीपूर्वमा ३७ जना अझै सक्रिय संक्रमित रहेका छन् ।

संक्रमणको परीक्षण दर घट्ना संक्रमण घटेको जिल्ला स्वास्थ्य कार्यालय नवलपरासीपूर्वले जनाएको छ ।

गण्डकीको पाँच जिल्ला कोरोनामुक्त हुँदै

गण्डकी प्रदेशको पाँच जिल्ला कोरोना संक्रमणमुक्तको चरणमा पुग्ने भएको छ । मनाङ र मुस्ताङ संक्रमणमुक्त रहेकामा संक्रमण दर नबढेको खण्डमा अब छिट्टै गोरखा, पर्वत, म्याग्दी पनि कोरोना हुने अवस्थामा छ ।

गोरखा जिल्लामा १ सय ४ जना संक्रमितमध्य अधिकांशलाई निको भइसकेको छ । गोरखामा सक्रिय संक्रमित ४ जना मात्रै बाँकी रहेको जनाइएको छ ।

यस्तै, पर्वतमा ९८ संक्रमित मध्ये ९१ जना निको भएर घर फर्किसकेका छन् । अब ७ जना मात्रै सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, म्याग्दीमा ४७ जनालाई कोरोना संक्रमण पुष्टी भएकामा ४१ जनालाई निको भइसकेको छ । म्याग्दीमा अब ६ जना मात्रै सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशमा कहाँ कति संक्रमित ?

गण्डकी प्रदेशमा सबैभन्दा बढी भाररसँग सीमा जोडिएको नवलपरासीपूर्वमा सबैभन्दा संक्रमित हुँदा उत्तरी सीमा मनाङ मुस्ताङमा भने संक्रमण सून्य छ ।

मनाङ र मुस्ताङमा एक एक जनामा संक्रमण देखिएकोमा दुवै संक्रमित निको भएको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।

नवलपरासीपूर्वमा ३ सय १५ संक्रमित मध्य २ सय ७८ निको भइसकेका छन् । जिल्लामा अहिलेसम्म ३७ जना सक्रिय संक्रमित रहेका छन् ।

यस्तै, स्याङ्जा जिल्ला गण्डकी प्रदेशको कोरोना प्रभावित जिल्लाको दोस्रोमा रहेको छ । स्याङजामा संक्रमित २ सय ६० जना रहेकामा १ सय ९१ निको भएका छन् । अहिलेसम्म ६७ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । स्याङजामा अहिलेसम्म २ जनाको मृत्यु भइसकेको छ ।

बाग्लुङमा २ सय ४३ संक्रमित मध्य २ सय १४ जना निको भएका छन् । गण्डकी प्रदेशमा सबैभन्दा पहिले बाग्लुङ संक्रमण देखिएको थियो । जिल्लामा अब २८ जना सक्रिय संक्रमित रहेको जिल्ला स्वास्थ्य कार्यालय बाग्लुङले जनाएको छ ।

यस्तै, तनहुँमा १७९ जना संक्रमितमध्ये १५७ निको भइ घर फर्किसकेका छन् भने अब २२ जना सक्रिय संक्रमित छन् ।

गण्डकी प्रदेशको प्रादेशिक मुकामसमेत रहेको कास्कीमा १ सय ३० जना संक्रमित मध्ये ९८ जना निको भइसकेका छन् । कास्कीमा सक्रिय संक्रमित ३२ जना रहेका छन् ।

यसैगरी, लम्जुङमा १ सय ७ जना संक्रमित रहेकामा ७२ जनालाई निको भइसकेको छ भने ३५ जना सक्रिय संक्रमित छन् ।