समाचार

चितवनमा १० महिने शिशुसहित थपिए २१ कोरोना संक्रमित

By खबरहब

August 31, 2020

चितवन- चितवनको भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

भरतपुरमा आइतबार राति गरिएको परीक्षणमा चितवनका १८ जना, गोरखा, रुपन्देही र पूर्वी नवलपरासीका एक/एक जनामा कोरोना संक्रमण पुष्टि भएको प्रयोगशालाकी प्रमुख डा.नितु अधिकारीले जानकारी दिइन्।

चितवनका संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुर महानगरपालिकाका छन्।

ती मध्ये ६ जना महिला र ६ जना पुरुष छन्। उनीहरूको भरतपुर अस्पताल स्वाब केन्द्र, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

यस्तै पूर्वीचितवनको राप्ती नगरपालिकाका ६ जनामा संक्रमण पुष्टि भएको छ।

ती मध्ये १० महिने शिशुसहित ४ महिला र २ जना पुरुष छन्। उनीहरूको राप्ती क्वारेन्टिनबाट स्वाब संकलन गरिएको हो।

यसैगरि गोरखाका ४० वर्षीय पुरुष, रुपन्देहीका ६५ वर्षीया महिला र पूर्वी नवलपरासीका २४ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

भरतपुर अस्पतालले जारी गरेको विज्ञप्ति