मनोरञ्जन

दीपेन्द्रको ‘चिसो मान्छे’ घाममा नखिचिने !

By खबरहब

March 01, 2021

काठमाडौं– निर्देशक दीपेन्द्र के खनालको लेखन, छायांकन तथा निर्देशनमा बन्न लागेको फिल्म ‘चिसो मान्छे’को छायांकन सोमबारबाट सुरु भएको छ ।

राजधानीमा सोमबार बिहान शुभसाइत गर्दै फिल्मको छायांकन सुरु गरिएको हो । निर्देशक खनालले फिल्मले चिसो मान्छेहरुको कथा भन्ने भएकाले घाममा नखिचिने बताए ।

‘काठमाडौदेखि बाजुरासम्मका विभिन्न लोकेशनमा सुटिङ हुनेछ । घाममा सुटिङ नहुने भएकाले यति नै दिनमा छायांकन सकिन्छ भन्ने अवस्था छैन’, उनले भने ।

शर्मिला पाण्डेको लगानी रहने फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, देशभक्त खनाल, आशान्त शर्मा, झकेन बिसीलगायतको अभिनय रहनेछ ।

आगामी वर्षको भदौ ११ गते रिलिज हुने फिल्ममा सुभाष भुषालको संगीत हुनेछ । यसअघि दीपेन्द्र र शर्मिलाले बनाएको फिल्म ‘आमा’ले बक्स अफिसमा सुखद व्यापार गरेको थियो ।

मुहुर्त कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले शुभकामना दिएका थिए ।