हामी सानो छँदाको कुरा, एउटा विदेशीले चिया खाँदै गर्दा चियाको कप देखाएर सुगर भनेछ रे ।
अनि चियापसलेले विदेशीको कुरा नबुझेर आफ्नो छोरालाई सोधेछ रे ।
छोराले सुगर भनेको ‘सु गर’ भन्ने बुझेर बुबा यसले त चियाको गिलासमा सुसु गर भन्यो भनेछ रे भन्दै खुब हाँसिन्थ्यो ।
विष्णु माध्यमिक विद्यालय, सोनापुर, सुनसरीमा कक्षामा शिक्षक नआउने थाहा भए हामी जोक्सको शृंखला सुरु गथ्र्यौं र हाँस्नसम्म हाँस्थ्यौँ । स्कुल छाडेपछि किन हो कुन्नि फेरि त्यतिको हाँसो कहिल्यै हाँस्न पाएको छैन ।
हाफटाइमपछि कक्षाबाट भागेर कोशी नदीको नहरमा फाल हान्दै छोइडुम खेल्थौँ । ओहो ! त्यो चिच्याहट ! त्यो खुशी अनि त्यो हाँसो ! त्यति बेलाको जिन्दगी सम्झेर अहिले ईष्र्या लाग्छ आफैँसँग । (हाम्रो बाल्यकाल त्यो खेलका लागि माफ गर्नुहोला ।)
पहिलो पटक पल्लोगाउँ गएको याद आउँछ, साइकलमा एक्लै गएको । त्यस्तो खुशी त अहिले देश छाडेर विदेश उड्दा समेत हुँदैन । त्यो खुइलेको रातो हिरोजेट साइकलको मजा त आज रातो चिल्लो गाडी चढ्दा समेत आउँदैन । म बालपनका निरपेक्ष खुशी स्मरण गर्दै यो आलेख लेख्दैछु ।
सम्झन्छु पुराना दिनका जोकहरू एउटा विदेशीले नेपालीलाई ‘सुगर’ भन्दा नेपालीले गएर ‘सुसु’ गरेछ भन्दै मरीमरी हाँसिन्थ्यो । हमजाएगाका कथाथा र बुबाआमाले हसाँउदै छोराछोरीलाई खाना खुवाएका किस्सासम्म हाम्रा जोकका विषय हुन्थे ।
अहिलेको डिजिटल युगको व्यस्ततामा हामीले कथाहरू हरायौँ अनि सँगै हराए हाँस्ने र रमाउने चलनहरू ।
आजभोलि त खुला चौरमा मस्तले खेलोस्, कुदोस् भनेर छोडेको बच्चा खुशी हुनुको साटो रोइरहेको देखिन्छ । ऊ प्रकृतिसँग नजिक भएर हाँस्न सक्दैन । उसलाई मोबाइल फोन र इन्टरनेट चाहिएको छ । आफ्ना आँखाले भ्याएसम्मको हरियालीमा र प्रकृतिमा रमाउन खेल्न, माटोमा घस्रिन अनि दौडिन र हाँस्न नसक्ने भएको छ आजको पुस्ता । यो पुस्ता मोबाइलको केही इन्च लामो स्क्रिनमा विश्व नियाल्न खोज्दैछ ।
हाँस्न अनि हसाउन कसैलाई फुर्सत छैन्, यो आलेख हाँस्न भुलेकाहरूका लागि हो । सन्दर्भ पनि कस्तो भने आज शुक्रबार, अक्टोबर १ हो । यस दिन विश्वभरि मुस्कान दिवस मनाइन्छ । आउनुहोस्, आजको यो शुक्रबार हाँसो र मुस्कानको थोरै कुरा गरौँ ।
कहिलेकाहीँ लाग्छ यो जीवनको घच्चाघमसानमा हामीले हाँस्न भुलिसकेका छौँ । मस्तले हाँसेका र मुस्कुराएका मान्छेहरू देखिन छाडिसके । बसमा हुँदा या बाटोमा हुँदा कि त मान्छेहरू घोप्टो परेर मोबाइल फोनमा निहुरिएका छन् या कानमा ठेणी छिराएर आफैँमा मस्त छन् ।
लाग्छ यहाँ सबैजना बहुतै खुशी छन् तर भित्र छिरेर सोधी हेर्ने हो भने यहाँ हरेकको आआफ्नै दर्द छ । धेरै जसो दर्दहरू मान्छेले आफ्नालागि आफैँ बनाएको छ ।
यो व्यस्त दुनियाँमा हाँस्न र हँसाउन कसैलाई फुर्सद छैन, यो आलेख हाँस्न भुलेकाहरूका लागि हो । आज अक्टोबर १, यस दिन विश्वभरि मुस्कान दिवस मनाइन्छ । आउनुहोस्, यो शुक्रबार हाँसो र मुस्कानको थोरै कुरा गरौँ ।
माघेसक्रान्ति र तिहारमा बोर मानेर घरमा बसेकाहरू ‘गुड फ्राइडे’ र ‘भ्यालेन्टाइन डे’ मा चुस्की लाउँदै, कम्मर हल्लाउँदै नाचेका देखिन्छन् । सबैको साझा बहाना दुःख भुलाउने र तनाव कम गर्ने छ ।
भारतीय कवि हरिवंश राय वच्चनको कविता याद आउँछ । एउटा कवितामा उनी भन्छन्– पहिले पहिले हाँस्दा हाँस्दै दिन कटेको चाल नपाउने मान्छे आजभोलि हाँस्न भुलेको कैयौँ दिन भइसकेको हुन्छ ।
आखिर किन भुल्दैछौँ त हामी हाँस्न ? के हाँस्नलाई आइफोन किन्न पर्छ र ? फेसबुकमा धेरै लाइक्स या हाँसेको रियाक्सनमा मात्र हाँसो उपलब्ध छ र ? पैसा कमाएपछि मात्र हाँस्ने भनेर हाँसो उधारो राख्ने हो र ?
एक पित्को हाँसो आज यो संसारमा यति धेरै महँगो किन भएको हो कुन्नि ! मानिसहरू खुम्चिएका गाला लिएर हाँस्न भुल्दै बाँचेका झैँ देखिन्छन्।
पहिले जुहारी, उखान टुक्का, रोदीघर, देउसीभैलो, भगवती, सिरुवा, अल्लाहरुदलमा हाँस्दै सरिक हुने नेपाली समाज आजभोलि लगभग हाँस्न भुलेझैँ भएका छन् ।
बाल्यकालमा कक्षा कोठामा साथीहरूले हमजाएगाको जोक्स सुनाएको याद आँउछ । केही ससाना कुराहरूमा पेट मिचीमिची हाँसिन्थ्यो । आजभोलि त हाँस्दा पनि पेट मिच्नुपर्छ र भन्ने प्रश्न सोधिन्छ ।
आजभोलि चलचित्र, टेलिचलचित्र हरेकतिर मान्छेहरू अँध्यारोभन्दा उज्यालो र हास्यप्रधान सामग्रीहरू खोजिरहेका पाइन्छन् । हास्यप्रधान टेलीसिरिजहरू, हँसाउने भिडियोहरू र स्ट्यान्डअप कमेडीहरू टे«न्डिङमा परिरहेका हुन्छन् ।
यसबाट प्रष्ट हुन्छ कि हास्न अनि मुस्काउन सबैलाई मन छ र मानिसहरू डिजिटल थलोहरूमा मुस्कान खोजिरहेका छन् । एउटा होइन सय वटा रोग अनि दर्दको कुरा गरे पनि ओखती चाहिँ एउटै हो, हाँस्नु अनि बिन्दास हुनु । विश्व नै मनोवैज्ञानिक संक्रमण र मष्तिष्कको अँध्यारोमा अड्किएको छ ।
अब उज्यालोतर्फ जान र हाँस्न जरुरी छ । यो खुशीको खोजी हो । समृद्धिको खोजी गर्दा गर्दै मान्छेको खुशी हराउन थालेको छ । ठूलो घरमा सानो परिवार दुःखले बसेको पनि यहीँ छ अनि सानो घरमा ठूलो परिवार सुःखले बसेको पनि यहीँ छ । यहाँ घरलाई सुख मान्ने चलन अब गलत भइसक्यो, सुख र खुशीको बुझाइमा स्पष्टता जरुरी छ ।
बाल्यकालमा वर्षमा एक हप्ता गाईजात्रा अनि केही प्रहसनबाहेक हाँस्नका लागि जोक्सका किताब पढ्नुपथ्र्यो वा सुस्त गतिमा हँसाउने टेलिसिरियल हेर्नुपथ्र्यो । सुस्तरी हास्य सिरियलहरू बढ्दै गए, चलचित्रमा पहुँच बढ्दै गयो अनि आज युट्युब अनि विभिन्न कार्यक्रममा उधारो हाँसो साट्न मिल्छ ।
अभिव्यक्तिको आआफ्नै प्रकार छ । कविता र कथाबाट उकालिँदै गीत र ¥याप हुँदै आज विश्वमा स्ट्यान्ड अप कमेडीको महत्व बढेको छ । न कुनै गीत, न कुनै नाच अनि न कुनै सहयोगी, केवल बोलीकै भरमा, कुराकै भरमा यिनीहरूले मञ्च तताउँछन् । पात्रहरू सिर्जना गर्छन् । कथा भन्ने तरिकामा समाजको यस्तो चित्रण पाइन्छ कि जो कोहीले पनि त्यस कुरासँग आफूलाई जोडेर हेर्न सक्छ ।
सन् २०१० अगाडि विदेशमा कस्ने भारतीय मूलका रसेल पिटर नामका कमेडियनले वडो गज्जबले कमेडी प्रहसन गरेका भिडियोहरू युट्युबमा हेथ्र्यौं । उनी वर्ण विभेद र एसियाली मान्छेका विषयमा बढी केन्द्रित हुन्थे । कहिलेकाहीँ थोरै छाडा अनि कहिलेकाहीँ साह्रै मर्मस्पर्शी हाँसो दिने यिनका प्रस्तुतिहरू बेजोड थिए ।
जागिर पाएपछि हासुँला, बढुवा भएपछि हाँसुला, सरुवा भएपछि हाँसुला, घर बनाएर हाँसुला, छोराछोरीले जागिर पाएपछि हाँसुला भनेर पर्खिंदा पर्खिंदै जीवनले बिट मार्न थालिसकेको हुन्छ ।
सुस्तरी स्ट्यान्ड अप कमेडी भारतमा कमेडी सर्कस जस्ता विभिन्न रियालिटी शो हुँदै नेपाली चियापसल अनि मञ्चसम्म जागृत हुँदै आयो । वास्तवमा हामी हाँस्न जरुरी छ । दैनिक जीवनले हाँस्ने उति अवसर नदिए पनि यस्ता स्ट्यान्ड अप कमेडी कार्यक्रममा गएर हाँस्न पाए पनि मनको पीडा कम हुन्थ्यो कि !
मनमनै कहिलेकाहीँ सोच्छु । जिन्दगीप्रति गम्भीर हुन सिकाउँदा सिकाउँदै, हल्काफुल्का हाँस्दै जीवन बिताउन पनि भूल्यौँ अनि नयाँ पुस्तालाई पनि सिकाउन सकेनौँ ।
हाँसो र मुक्तकण्ठकका भावनाहरू नै मनमा छैनन् भने शान्ति र बुद्धत्व कसरी आँउछ र ! एन्टीडिप्रेसान्ट खाएर अबको पुस्ता हुर्काउने या हाँसेर जीवनका हरेक चुनौती सहर्ष स्वीकार गर्ने भन्ने दुई विकल्प हामीसँग छ ।
हाँस्न जरुरी छ अनि हाँसो र खुशी कुनै बार या बोटलमा पाइन्न । म आफैँ पनि जिन्दगीसँग त्यति खुशी हुन नसकेको हुँला तर खुशी सम्भव छ भन्नेमा विश्वस्त छु ।
मुस्कुराउन नभुलौँ । मनमै हुन्छ कि खित्का छाडेर वा अट्टाहसपूर्ण नै किन नहोस् आजै हाँस्न सुरु गरौँ र प्रत्येक दिन हाँसौँ ।
मैले त गाडीमा शानकासाथ हिँडेका भन्दा साइकलमा या पैदल हिँडेका मान्छेहरू धेरै खुशी रहेको पाएको छु । धनको दौडभन्दा सरलताको दौडमा धेरै खुशी पाएको छु । पसिना बगाउनेहरू दुःखी नहोउन् भनेर नै होला महाकवि लक्ष्मीप्रसाद देवकोटाले ‘गरिब’ कविता लेखेका । आजभोलि हरेक हाँसोहरू उधारोमा छन् । जागिर पाएपछि हासुँला, बढुवा भएपछि हाँसुला, सरुवा भएपछि हाँसुला, घर बनाएर हाँसुला, छोराछोरीले जागिर पाएपछि हाँसुला भनेर पर्खिंदा पर्खिंदै जीवनले बिट मार्न थालिसकेको हुन्छ ।
हाँसो र मुस्कान उधारोमा नराखौँ । केही बितेको छैन । जीवन भनेकै बाँच्नका लागि हो । जसरी बाँचिएको छ त्यही गज्जब छ । मजाले हाँसौँ, स्माइल प्लिज !