काठमाडौँ– काठमाडौँ उपत्यका भित्रका अव्यवस्थित बस्ती वर्षेनी डुवानमा पर्ने गरेका छन् । यो वर्ष पनि डुबानमा परे । साघुँरा सडक, अव्यवस्थित ढल र खोलालाई बनाइएका सडक र घरले सुविधाभन्दा धेरै समस्या थपिदिएको छ ।
बजार विस्तार गर्ने क्रममा सरकारी पक्ष र स्थानीय व्यक्तिहरूले ध्यान नदिँदा र त्यसले भविष्यमा पार्ने असरबारे दुर्गामी सोच राख्न नसक्दा केही वर्ष अघिमात्र विस्तार भएका क्षेत्रहरू वर्षेनी डुबानमा पर्ने गरेका छन् ।
काठमाडौँ उपत्यकाको एक घना बस्ती रहेको कपन क्षेत्र यसरी डुबानमा पर्ने क्षेत्र मध्येकोे एक हो । साबिकको कपन गाविसमा पर्ने यो क्षेत्र संघीय संरचना अनुसार अहिले बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर १०, ११ र १२ भित्र पर्छ ।
जानकार तथा स्थानीयहरूका अनुसार यस क्षेत्रमा तिव्र रुपमा बस्ति विस्तार हुन थालेको २०६० सालपछि मात्रै हो । त्यसअघि यो क्षेत्रमा हातमा गन्न सकिने केही घरधुरी मात्र थिए ।
जताततै खेतै खेत र हिलो भएकाले कपनबाट आउनहरूले हातमा जुत्ता चप्पल बोकेर सुकेधारामा खुट्टा धोएर मात्र जुत्ता चप्पल लागएर आफ्नो गन्तब्यमा जाने गरेको २०६० सालअघि कपन बस्ने जो कोहीले पनि सम्झिन्ने गरेका छन् ।
छोटो समयमा योजनाबद्ध बस्ती विस्तार नभएकाले यहाँका सडकहरू साँघुरिएका छन् । यहाँका स्थानीय, कर्मचारी र सरकारवाला व्यक्तिहरूको मिलेमतोमा खोलालाई ढलमा परिणत गरिएको छ । यहाँका घरहरू वर्षेनी डुबानमा पर्ने गरेका छन् ।
२०५६ सालदेखि कपनमा स्थायी बसोबास गर्दै आएका चुडामणि कोइरालाले खोलामा ह्यूमपाइप नराखौँ भन्दा आफ्नो शरिरमा ढुङ्गामुढा वर्षीयको अझै बिर्सिएका छैनन् ।
पहिला थोरै बस्ती भएकाले डुबानको समस्या नदेखिए पनि पछिल्ला केही वर्षदेखि बस्ती र जनसंख्या बढेकाले डुवानको समस्या देखिन थालेको उनले बताए ।
उनले भने, ‘खोला पुर्दा स्थानीयहरू खोलाको जग्गा बेच्न पाइन्छ भनेर खुशी भए र बाहिरबाट आउनेहरू घर बनाउन पाइन्छ भनेर खुशी हुँदा आजको अवस्था सिर्जना भएको हो ।’
त्यस्तै २०४९ सालदेखि कपनमा स्थायी बसोबास गर्दै आएका टंक सापकोटाले पनि कपनको अहिलेको अवस्था हुनुमा तत्कालीन गाविस सचिव, स्थानीय र सरोकारवाला व्यक्तिहरू जिम्मेवार रहेको बताए ।
कपन क्षेत्रलाई प्लटिङ गरेर घडेरीमा टुक्र्याउन थालेपछि खोला पनि मिचिँदै गएको उनले बताए । उनका अनुसार २०५८ सालमा पहिलो पटक यग्यमति खोला (उज्ज्वल विश्वकर्मा खसेको ढल) मा ह्यूम पाइप राखेर खोलालाई ढलमा परिणत गर्ने काम गरिएको थियो ।
‘खोला पुर्दा स्थानीयहरू खोलाको जग्गा बेच्न पाइन्छ भनेर खुशी भए र बाहिरबाट आउनेहरू घर बनाउन पाइन्छ भनेर खुशी हुँदा आजको अवस्था सिर्जना भएको हो ।’
बुढानिलकण्ठ नगरपालिका वडा नम्बर १२ का वडा अध्यक्ष सम्भूप्रसाद भट्टराईकै अध्यक्षतामा पहिलो पटक आर्दश नगरदेखि दुलाल चोकसम्म करिब साढे तीन सय मिटर ह्यूम पाइप हालेर खोलालाई पुर्ने काम गरिएको उनले बताए ।
उनले भने, ‘म पनि उक्त समूहको कोषाअध्यक्ष थिएँ ।’ २०६६-०६७ सालमा आनी गुम्बादेखि धोबी खोलासम्म करिब २ किलोमिटर खोला पुरै ह्यूम पाइप हालेर छोप्ने काम भएको उनले बाताए ।
त्यस्तै कपनका अर्का स्थानीय बृहस्पति चालिसेले कपनका नेता, कर्मचारीहरू र स्थानीयहरू मिलेर मनपरी रुपमा प्लटिङ गरेकाले अहिले कपन कुरुप बनेको बताए ।
यग्यमती खोलाले चर्चेको क्षेत्र पहिला अहिलेको भन्दा तीन गुणा ठूलो रहेको उनी बताए । अझै पनि उनलाई उक्त खोलामा नुहाँएको हिजो जस्तो लाग्छ । उनले भने, ‘हामी त्यहाँ गाई बाख्रा चराउन जाँदा पौडी खेल्थ्यौँ ।’
तत्कालीन समयमा स्थानीय सरकार नभएकाले सबैले मिलिजुली खोला मासेको उनले बताए । उनका अनुसार एउटा पक्षलाई मात्र दोस दिने ठाउँ छैन । सरकारदेखि स्थानीय व्यक्तिहरूको मिलेमतोमा खोला मास्ने र जथाभावी प्लटिङ गरेर अव्यवस्थित रुपमा घरहरू बनाउने काम भएको उनले बताए ।
यग्यमती खोलामा राखिएका ह्यूम पाइपले वर्षायामको पानी थेग्न नसक्दा सडकमा पानी आएर कपन क्षेत्र डुबान पर्ने गर्छ । सरकारको अव्यवस्थित विकास र स्थानीय सरकारवालाहरूको निगरानी नुहँदा कपनको मिलन चोकमा निर्माण सम्पन्न गरेर खुल्लै छोडिएको ढलमा खसेर १० वर्षीय बालक उज्ज्वल विश्वकर्माले केहीदिन अघिमात्र अनाहकमै ज्यान गुमाएका छन् ।
अहिले उक्त घटनाको जिम्मा न स्थानीय सरकार लिन तयार छ न निर्माणको ठेक्दा दिने बागमती प्रदेश सरकारको सिँचाई डिभिजन कार्यालयले नै ।
गत वर्ष प्रदेश सरकारको सिँचाई डिभिजन कार्यालयले ‘थापा निर्माण’ कम्पनीलाई ७५ लाख रुपैयाँमा ६५ मिटर ढल निर्माण गर्ने जिम्मा दिएको थियो । निर्माण कम्पनीले उक्त ढललाई व्यवस्थित तरिकाले ढाकछोप नगर्दा र डिभिजन कार्यालयले भविष्यमा आउने जोखिमलाई ध्यानमा नराखि भूक्तानी दिँदा उक्त घटना घटेको हो ।
गत असोज ६ गते परेको पानी खोलामा राखिएका ह्यूम पाइपले थेग्न नसकेर सडकमा आएकाले उज्ज्वले खुुल्ला छोडिएको ढल देखेनन र उनले त्यही ढलमा खसेर ज्यान गुमाए ।
उनी बेपत्ता भएको पाँच दिनपछि प्रहरीले शव ललितपुर जिल्लाको महांकाल गाउँपालिका स्थित बागमती नदिको किनारमा फेला पारेको थियो । अव्यवस्थित सहर विस्तार र अव्यवस्थित विकासका कारण यसरी वर्षेनी कुनै न कुनै व्यक्तिले अनहकमै ज्यान गुमाइरहेका हुन्छन् ।
खोलालाई ढलमा परिवर्त गरेर पुर्दा अहिले कपनका कतिपय घरहरू खोलामाथि नै निर्माण भएका छन् । खोलाको पानी सडकमा आउँदा उक्त क्षेत्रका सडकमा गरिका पिच उतिर्एका छन् । सडक बगर बनेका छन् । ठूलो पानी पर्यो भने कपन क्षेत्रका घरका भुँइतलामा बस्न सकिने अवस्था रहदैँन ।
किन व्यवस्थित हुन सकेन कपन क्षेत्र ?
उपत्यकालाई सुन्दर, शान्त, पर्यटकीय, हरियाली र व्यवस्थित तरिकाले बस्ती विकास गरी बस्न योग्य काठमाडौँ उपत्यका बनाउने उद्देश्य सहित २०६९ मा स्थापना भएको काठमाडौँ उपत्यका विकास प्राधिकरणले पनि उपत्यकाभित्र तिव्र रुपमा बढी रहेको अव्यवस्थित बजार क्षेत्र विस्तारलाई रोक्न सकेको छैन ।
प्राधिकरणले व्यस्थित रुपमा बस्ती विस्तार गर्न केही वर्षअघि चावहिलस्थित गोपीकृष्ण हलसम्मको क्षेत्रलाई प्लानिङ गरेको थियो । त्यो भन्दा माथिको कपन क्षेत्रमा भने प्लानिङ हुन सकेन ।
प्राधिकरणका राष्ट्रिय आयोजना प्रवन्धक भागवतभक्त खोखालीका अनुसार धोविखोलाको क्षेत्र प्लानिङ हुँदाहुँदै कपनमा तिव्र रुपमा बस्ति विस्तार भएपछि व्यवस्थित तरिकाले प्लानिङ हुन सकेन ।
स्थानीयहरू आफैँ मिलेर व्यक्तिगत प्लानिङ गरेर जग्गा सबै सकेपछि प्लानिङ हुन नसकेको उनले बताए । व्यक्तिले आफैँ प्लानिङ गरेको वा घर बनाएको स्थानमा प्राधिकरण गएर भत्काएर प्लानिङ गर्न नसक्ने उनको भनाइ छ ।
उनका अनुसार भक्तपुरको सानोठिमी, सूर्यविनायक, काठमाडौँको, कपन, बुढानिलकण्ठ, टोखा, कालिमाटी, ललितपुरको खोकना लगायत स्थानहरू पनि ढिलो बिस्तार भएर अव्यवस्थित बनेका क्षेत्र हुन ।
प्राधिकरणसँग एकै पटक ठूलो क्षेत्रमा व्यवस्थित तरिकारले बस्ती वा सडक प्लानिङ गर्ने बजेट नहुने भएकाले पनि उपत्यकाका धेरै ठाउँमा तिव्र रुपमा अव्यवस्थित तरिकाले बस्तिहरू बढेको उनको भनाइ छ ।
बुढानिलकण्ठ नगरपालिकाका जम्मा १३ वटा वडा छन् । ती वडाभित्र २६ हजार ४८५ घरधुरी बनेका छन् भने १ लाख ९१८ मानिसहरू बसोबास गर्दै आएको नगरपालिकाको तथ्याङ्कले देखाएको छ । कपन क्षेत्रमा मात्रै नगरपालिकाको करिब आधा घरधुरी र जनसंख्या रहेको छ ।
कपनमा मात्रै १२ हजार ३२४ घरधुरी रहेका छन् भने ४८ हजार ४६३ जना मानिहरूको बसोबास रहेको छ ।
नगरपालिकाका सूचना अधिकारी नवराज भट्टराईका अनुसार नगरपालिका जम्मा ३४.८० स्क्वायर किलोमिटमा फैलिएको छ । त्यसमा पनि कपन क्षेत्र जम्मा ४.६५ स्क्वायर किलोमिटरमा फैलिएको छ ।
खोला छोप्न पाइँदैन
वि.स २०६४-८-०१ गते बसेको मन्त्रिपरिषद्को निर्णय अनुसार कुनै खोला, खोल्छी र राजकुलो छोप्न पाइँदैन । बैठकले बागमती, विष्णुमति र मनहरा खोलामा २० मिटर छाडेर मात्र निर्माण गर्न पाइने निर्णय गरेको थियो ।
उक्त मन्त्रिपरिषद्को बैठकले नै धोवीखोलाको हकमा धोविखोला आयोजना भएको स्थानमा प्लानिङ प्रोजेक्ट अनुसारको दुरी र प्लानिङ बाहिरका स्थानमा ९ मिटर छोडेरमात्र निर्माण गर्न पाइने निर्णय गरेको थियो ।
त्यस्तै टुकुचा, सामाखुसी र उपत्यकामा बग्ने अन्य खोलामा ४ मिटर छोडेर मात्र कुनै पनि विकास निर्माणको काम गर्न पाइने निर्णय पनि सोही बैठकले गरेको थियो ।