खेलकुद

साफ : नेपाल र मालदिभ्सबीच खेल हुँदै

By खबरहब

October 01, 2021

काठमाडौँ– साफ च्याम्पियनसिपको १३ औं संस्करणको दोस्रो खेल शुक्रबार नेपाल र माल्दिभ्सबीच हुँदैछ । मालदिभ्सको राजधानी मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने साफ च्याम्पियनसिपमा ५ राष्ट्रको सहभागिता रहेको छ ।

यसपटक आयोजक माल्दिभ्स, नेपाल, भारत, बंगलादेश र श्रीलंकाको सहभागिता रहेको छ ।

लिगमा पाँचै टोलीले एक अर्काविरुद्ध खेल्नेछन् । लिग चरणको खेलपछि शीर्ष दुई टोलीले उपाधिका लागि असोज ३० मा प्रतिस्पर्धा गर्ने छन्।

१३ औं साफको पहिलो दिन शुक्रबार दुई खेलहरु हुनेछन् । पहिलो खेलमा श्रीलंका र बंगलादेश भिड्ने छन्।

दोस्रो खेलमा नेपालले आयोजक तथा साविक विजेता माल्दिभ्सविरुद्ध प्रतिस्पर्धा गर्नेछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार राति ९ः४५ बजे सुरु हुनेछ।

नेपाली टिम पहिलो पटक साफको उपाधि उचाल्ने लक्ष्यसहित माल्दिभ्स गएको छ । घरेलु टिमविरुद्ध मैदान उत्रदा नेपाल जितबाट प्रतियोगिता सुरुआत गर्न चाहन्छ ।

नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पटक पटक साफको उपाधि जित्ने लक्ष्य रहेको बताउँदै आएका छन् । साफ उनको लागि पनि वास्तविक परिक्षा हुनेछ ।

मालेमा बिहीबार आयोजित प्रि–म्याच कन्फरेन्समा कप्तान किरणले माल्दिभ्समा कुनै पनि टिमसँग नडराउने र उत्कृष्ट नतिजाका लागि मैदानमा लड्ने बताए।