विश्वभर महामारी बनेर फैलिएको कोरोना भाइरसको नयाँ भेरियन्ट हो, ओमिक्रोन । अरु भेरियन्टका तुलनामा छिटो संक्रमण फैलिने भएकाले विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले यसबाट सुरक्षित हुन र सावधानी अपनाउन आह्वान गरिसकेको छ ।
कोरोनाको यो भेरियन्ट फैलिन नदिन विभिन्न राष्ट्रले आपतकालीन रूपमा यात्रा प्रतिबन्ध लगाइसकेका छन् । भ्याक्सिन निर्माता कम्पनी आफ्नो उत्पादनलाई अपडेट गर्ने तयारी गरिसकेका छन् । यद्यपि यो कोरोना भाइरससँगको अन्तिम लडाइँ भने होइन ।
कोरोना भाइरसको विभिन्न भेरियन्टसँग हामी भिड्दै आइरहेका बेला यो क्रम कहिलेसम्म ? भने जिज्ञासा स्वभाविक रुपमा उत्पन्न भएको छ । डब्लुएचओले यो भाइरसको भेरियन्टलाई ‘भेरिअन्ट अफ कन्सर्न’, ‘भेरिअन्ट अन्डर मनिटरिङ’ तथा ‘भेरिअन्ट अफ इन्ट्रेस्ट’का रूपमा व्याख्या गरेको छ ।
हालसम्म देखिएकामध्ये पाँच कोरोना भाइरसलाई ‘भाइरस अफ कन्सर्न’को रूपमा विश्व स्वास्थ्य सङ्गठनले लिएको छ । यसमा अल्फा, बिटा, गामा, डेल्टा र ओमिक्रोन रहेका छन् ।
ओमिक्रोन भेरियन्ट पहिलोपटक गत ९ नोभेम्बरमा दक्षिण अफ्रिकामा देखिएको थियो । यसको सङ्क्रमण छिटो फैलिएपछि डब्लुएचओले चासोका साथ हेरेको थियो ।
“यो नयाँ भेरिअन्ट (बी १.१.५२९) एकदमै छिटो फैलिएको पाइएको छ,” साउथ अफ्रिका सेन्टर फर इपिडेमिक रेस्पोन्स एन्ड इनोभेसन तथा स्टेलेनबोस्ककी जेनेटिक रिसर्चर टीयलो डी ओलीभीयराले ट्विटर मार्फत बताइन् ।
यसको जिन परीक्षण गर्दा स्पाइक प्रोटिनमा धेरै म्युटेसन भएको पाइएको अनुसन्धानले देखाएको छ । यसअघि अन्य भेरियन्टमा पनि देखिएको केही म्युटेसन यसमा पनि पाइएको छ । इ४८४के नाम दिइएको एक म्युटेसनका कारण भाइरसले एन्टीबडीसँग कम प्रतिक्रिया देखाउने अनुमान गरिएको छ ।
साथै हालै गरिएको एक अध्ययनमा यो म्युटेसनले इम्युन सिस्टमको प्रोटिनलाई कमजोर गराउने गरेको पनि पाइएको थियो । यो म्युटेसनले मोनोकनल एन्टीबडीलाई कम प्रभावकारी बनाउने गरेको छ ।
ओमिक्रोनमा नै एन५०१वाई नामको अर्को म्युटेसन पनि देखिएको छ । युनिभर्सिटी अफ टेक्सास मेडिकल ब्रान्च एन्ड कलेजका स्कट वेभरले आफ्नो जर्नलमा जनाए अनुसार अल्फा र गामामा समेत भेटिएको यो म्युटेसनले भाइरसलाई सङ्क्रामक बनाएको छ । यो म्युटेसनसँगै भाइरस घाँटी र नाकको माथिल्लो भागसम्म रहने भएकाले हाछ्यु गर्दा, खोक्दा र या बोल्दा सजिलै अन्य व्यक्तिमा सर्ने सम्भावना प्रबल बनेको छ ।
डेल्टाले जस्तै ओमिक्रोनले पनि डी ६१४ जी नामको अर्को म्युटेसन लिएको हुन्छ । यसका कारण यो कोषहरूमा टाँसिएर बस्छ । ब्रिटिस मेडिकल एसोसिएसनको सामुदायिक स्वास्थ्य मेडिकल कमिटीका पूर्व प्रमुख डा. पिटर इङ्ग्लिस आत्तिनुपर्ने अवस्था नरहेको बताउँछन् ।
उनका अनुसार धेरै म्युटेसन भएकै कारण धेरै समस्या गर्छ भन्ने होइन । यसका बाबजुद उनी पनि यो म्युटेसनले इम्युन सिस्टममा कस्तो प्रभाव पार्छ भन्नेलाई चासोपूर्वक हेर्नुपर्ने बताउँछन् ।
अहिले धेरै वैज्ञानिकको चासो स्पाइक प्रोटिनमा भएको म्युटेसनमा हो । धेरै भ्याक्सिन स्पाइक प्रोटिनमा केन्द्रित भएर बनाइएका छन् । फाइजर एन्ड बायोटेक, मोर्डना, जोन्सन एन्ड जोन्सन र अस्ट्रेजेनकाका साथै धेरै भ्याक्सिन स्पाइक प्रोटिनमा आधारित भएर बनाइएका भ्याक्सिन हुन् ।
यी सबै भ्याक्सिन भाइरसको जिनको एउटा टुक्रामा आधारित भएर तयार पारिएका हुन्छन् । यिनमा स्पाइक प्रोटिनकै टुक्रा प्रयोग गरिएका छन् । यसकारण यो म्युटेसनले इम्युन सिस्टमको प्रोटिन तथा भ्याक्सिनले बनाएको सेललाई निष्प्रभावी बनाउन सक्ने सम्भावना बढेको छ ।
यद्यपि सम्भावना देखिएपनि प्रमाण भने भेटिएको छैन । अन्य भेरियन्टबाट भन्दा यसबाट धेरै नै अवस्था भयावह हुन्छ या हुँदैन भन्नेमा अनुसन्धाताको चासो बढेको छ ।
अर्को चिन्ता मोनोकल एन्टीबडीको उपचार पद्धतिलाई नै यस भाइरसले प्रभाव पार्ने त होइन भन्ने पनि हो । विश्व स्वास्थ्य संगठनले यस म्युटेसनले कोभिड–१९ उपचारलाई प्रभाव पार्ने सम्भावना कम रहेको जनाएको छ । स्टेरोइड डेक्सामेथासोन र अहिले निर्माण भइरहेको एन्टी भाइरल उपचार पद्धतिलाई यसले असर नगर्ने अनुमान समेत गरिएको छ ।
अहिलेसम्म ओमिक्रोन धेरै देशमा फैलिसकेकोमा भने कुनै शङ्का छैन । दक्षिण अफ्रिका, बोत्सवना, बेल्जियम, नेदरल्यान्ड, अस्ट्रेलिया, बेलायत, इटाली, इजरायल, अस्ट्रिया र क्यानडामा यो फैलिसकेको छ ।
तर ओम्रिकान भाइरसको सङ्क्रमण हो या होइन भनेर पत्ता लगाउनका लागि अर्को एक तहको विशिष्ठ परीक्षणको आवश्यकता पर्छ । जिन स्क्यानिङ पनि आवश्यक भएकाले यो पीसीआर या एन्टीजेन परीक्षणभन्दा लामो प्रक्रियाको हुन्छ ।
ओम्रिकान घातक हो या होइन भन्नेबारे धेरैको चासो बढे पनि यसको प्रतिक्रिया केही समयपछि मात्र देखिनेछ ।
दक्षिण अफ्रिकामा यसको उपचारमा संलग्न चिकित्सकहरूले सङ्क्रमितमा सामान्य लक्षण मात्र देखिएको बताएका छन् । सबैभन्दा गम्भीर लक्षण देखिएकोमा एक या दुई दिन ज्वरो आउने तथा टाउको दुख्नुका साथै मांसपेशी दुख्ने समस्या पाइएको दक्षिण अफ्रिकी मेडिकल एसोसिएसनकी प्रमुख तथा एन्जेलीक कोयत्जेले बताइन् ।
यी सबै चिन्ता, सम्भावना र अनुमानका बाबजुद संसारका सबै चिकित्सक भ्याक्सिनलाई निरन्तरता दिन आवश्यक भएकोमा सहमत छन् । दक्षिण अफ्रिकामा कुल जनसङ्ख्याको २४ प्रतिशत तथा वयस्क मध्येका ३५ प्रतिशतले पुरै डोज भ्याक्सिन लगाएका छन् ।
दक्षिण अफ्रिकामा यसअघि नै एचआइभीको समस्या पनि बढी भएका कारण कोरोनाको समस्या थपिएको हो । धेरै जना एचआइभी सङ्क्रमित भएका कारण उनीहरूको उपचारमा समस्या भई रहेको छ भने उनीहरूको भाइरसको सामना गर्ने क्षमता पनि कम रहेको छ ।
कमले भ्याक्सिन लगाएको तथा धेरै जनाको इम्युन सिस्टम नै खराब भएका कारण दक्षिण अफ्रिकामा कोरोना भाइरसको धेरै म्युटेसन भइरहेको छ । यो भाइरसको म्युटेसनलाई कम गर्न या भाइरसलाई म्युटेसनहीनबाट अवरोध सृजना गर्न सामाजिक दुरीको मापदण्डको कडाइका साथ पालना नै महत्त्वपूर्ण उपाय हो ।
मास्क लगाउने, हात धुने तथा दुरी कायम जस्ता अति आवश्यक कुरामा ध्यान दिनुको कुनै विकल्प छैन । साथै भेन्टिलेटर भएको स्थानमा बसोबास गर्नु अर्को उपयुक्त विकल्प त हुँदै हो ।
सीटलस्थित किङ काउन्टीका मेडिकल अफिसर डा. डेफ्री जचीन भेन्टिलेटर नभएको स्थानमा रहनु नै कोभिड सङ्क्रमणलाई बढाउनु तथा महामारीको मुख्य कारण भएको बताउँछन् । धेरै विज्ञहरूले ओमिक्रोनका बारे धेरै निचोड निकाल्न अझै पनि केही समय कुर्नु उपयुक्त भएको धारणा सार्वजनिक गरेका छन् ।
टुलान युनिभर्सिटी अफ स्कुल अफ मेडिसिनका माइक्रोबाइलोजी तथा इम्युनोलोजीका प्राध्यापक रोबर्ट गेरी धेरै दुखी हुन आवश्यक नरहेको बताउँछन् । स्कुल अफ ट्रोपिकल मेडिसिनका डिन डा. पिटर होयत्ज ओमिक्रोन विगतको भन्दा घातक रहेको प्रमाण अहिलेसम्म नभेटिएकाले आत्तिनुपर्ने अवस्था नरहेको दाबी गर्छन् ।
भेरियन्ट अफ कन्सर्नले अहिले संसारमा नै असर पारिरहेको छ । अमेरिकामा ९९.९ प्रतिशत कोरोना भाइरसको सङ्क्रमित डेल्टाका सङ्क्रमित हुन् । बी.१.६१७.२ नाम दिइएको यो भेरियन्ट अरू भेरियन्टभन्दा धेरै सङ्क्रामक भए पनि धेरै घातक अझै ठानिएको छैन ।
अल्फा भनिने भेरियन्टबाट यो चाँडो परावर्तन भएर डेल्टामा परिवर्तन भएको थियो ।
डेल्टाले पनि स्पाइक प्रोटिनको क्लस्टरलाई बोक्ने गर्छ । पहिलो सङ्क्रमित भइसकेकामा डेल्टा भेरियन्टको सङ्क्रमण पुन: हुने सम्भावना कायम नै रहन्छ ।
इलीलीली कम्पनीले बनाएको एन्टीबडी उपचार पद्धति ‘बाम्लानीभीमाब’ को उपचारबाट हुने प्रभावलाई डेल्टाले कम गरेको छ । तर, अन्य मोनोकोनल एन्टीबडीज उपचारका सामु डेल्टाका भाइरस कमजोर ठानिएका छन् ।
यसभन्दा अघि नै गत वर्षको डिसेम्बरमा अल्फा फेला परेको थियो । बी.१.१.७ नामको यो भेरियन्टले इङ्गल्यान्डलाई सबैभन्दा धेरै प्रभाव पारेको थियो भने संयुक्त राज्य अमेरिकाको जनजीवन पनि प्रभावित पारेको थियो । अहिले यसलाई अमेरिकामा ‘भेरिअन्ट बिङ मोनीटर्ड’को सूचीमा राखिएको छ । त्यहाँ यसको प्रभाव कम भएपछि यसलाई नयाँ ढङ्गले सुचीकृत गरिएको हो । यो भ्याक्सिन तथा मोनोकनल एन्टीबडीजका लागि संवेदनशील रहेको छ ।
पहिलोपटक दक्षिण अफ्रिकामा देखिएको बेटा या बी.१.३५१ नामको यो भेरियन्ट इ४८४ के र एन५०१वाई म्युटेसन थियो । यसभन्दा अघिका भेरियन्टभन्दा यो ५० प्रतिशत बढी सङ्क्रामक थियो भने यसले इलीलीलीको एन्टीबडीज उपचार पद्धतिको प्रभावलाई कम गरेको थियो । अन्य उपचार पद्धति भने काम आएन ।
विगतमा सङ्क्रमित भई सकेका र भ्याक्सिन लगाएका दुवै यस भेरियन्टबाट सङ्क्रमित भएको पाइयो । भ्याक्सिन बजारमा आउन लागेको समयमा यो भेरिअन्ट देखा परेका कारण केही कम्पनीले परिमार्जन पनि गरेका थिए । यसलाई पनि अमेरिकी वैज्ञानिकले ‘भेरिअन्ट बिङ मोनीटर्ड’मा सुचीकृत गरेका छन् । भ्याक्सिनबाट मानिसलाई बचाउन र सङ्क्रमणलाई केही कम गर्न भने बेटाको बाबजुद कुनै अप्ठेरो भएको छैन ।
पी.१ या गामाले ब्राजिललाई ध्वस्त पारे पनि अन्य देशमा यसले धेरै प्रभाव पारेको छैन । अहिले यसलाई पनि अमेरिकी वैज्ञानिकले ‘भेरिअन्ट बिङ मोनीटर्ड’को सूचीमा राखेका छन् । यसबाट पनि इ४८४ के र एन५०१वाई म्युटेसन भएको पाइएको थियो । इलीलीलीको एन्टीबडी उपचार पद्धतिलाई यसले प्रभाव पारे पनि रिजेनरोनको उपचार पद्धतिलाई प्रभाव पारेको थिएन ।
डब्लुएचओले सी.३७ या लम्बडालाई ‘भेरिअन्ट अफ इन्ट्रेस्टमा राखेको छ । यसै गरी मु या बी .६२१लाई पनि यसै सूचीमा राखेको छ ।
डेल्टापछि म्युटेसन भएर बी.१.४२७ र बी.१.४२९ देखा परेको थियो । एप्सीलोन नामको यो भेरिअन्ट पहिलोपटक क्यालिफोर्नियामा देखा परेको थियो । यसलाई पनि ‘भेरिअन्ट बिङ मोनीटर्ड’को सूचीमा राखिएको छ ।
त्यस्तै लोटा र इटा भेरियन्टलाई पनि ‘भेरिअन्ट बिङ मोनीटर्ड’को सूचीमा राखिएको छ । ब्राजिलमा भेटिएको जेटालाई पनि यसै सूचीमा राखिएको छ ।
संसारमा कोरोना महामारी शुरु भएको दुई वर्षमा यसका विभिन्न भेरियन्ट देखिए । यीमध्ये पछिल्लो भेरियन्ट सबैभन्दा सङ्क्रामक देखिएको छ । आशा गरौँ, हामीले विगतमा थुप्रै भेरियन्टको सामना गर्दै आएका कारण आत्तिनुपर्ने अवस्था आउने छैन । तथापि सुरक्षा मापदण्ड अपनाउन र सामाजिक दूरीको कडाइका साथ पालना गर्नैपर्ने अवस्थामा भने हामी पुगेका छौँ ।