खेलकुद

म्युनिख र बार्सिलोनाको खेल बन्द रंगशालामा हुने

By खबरहब

December 01, 2021

काठमाडौँ– यूईएफए च्याम्पियन्स लिगअन्तर्गत जर्मन बुण्डेसलिगा क्लब बायर्न म्युनिख र स्पेनिस ला लिगा क्लब बार्सिलोनाबीचको खेल बन्द रंगशालामा हुने भएको छ।

युरोपमा बढ्दै गएको कोरोना भाइरस महामारीको कारण बायर्न र बार्सिलोनाबीचको खेल बिना दर्शक हुन लागेको हो । खेल बायर्न घरेलु मैदान एलिनाजमा ९ डिसेम्बरमा हुनेछ ।

कोरोना संक्रमण बढ्दै गएपछि जर्मन सरकारले दर्शक बिना खेल गराउने तयारी थालेको हो । समूह ‘इ’ मा बायर्न ५ खेलबाट १५ अंकसहित शीर्षस्थानमा रहँदै अन्तिम १६ मा स्थान बनाइसकेको छ ।

बार्सिलोना भने ७ अंकसहित दोस्रो स्थानमा छ । ५ अंक रहेको बेन्फिका तेस्रो स्थानमा रहँदा १ अंकको ड्यनामो केईभ पुछारमा छ ।

समूहको उपविजेताको रुपमा नक आउट चरणमा स्थान बनाउन बार्सिलोनालाई जित आवश्यक छ । अन्तिम खेलमा बार्सिलोना बायर्नसँग पराजित तथा बेन्फिकाले केईभलाई पराजित गरेको खण्डमा भने बार्सिलोना समूह चरणबाट बाहिरिनेछ ।

एकै समयमा हुने खेलमा यदि बेन्फिका र केईभले बराबरी खेले बार्सिलोना दोस्रो चरणमा प्रवेश गर्नेछ ।