राजनीति

कांग्रेस वगमती प्रदेश सभापतिमा पौडेल पक्षबाट केसी उम्मेदवार

By खबरहब

December 01, 2021

काठमाडौँ– नेपाली कांग्रेसको वागमती प्रदेश सभापतिमा संस्थापन इतर समूहबाट नुवाकोटका पूर्व सभापति जगदिश्वर नरसिंह केसी उम्मेदवार बन्ने भएका छन् । बुधबार साँझ संस्थापन इतर समूहले उनको उम्मेदवारी टुंगो लगाएको हो ।

वरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य गगन थापाबीच केसीलाई उम्मेदवार बनाउने सहमति जुटेको हो । जगदिश कांग्रेस नेता अर्जुन नरसिंह केसीका भाइ हुन् ।

प्रदेश अधिवेशन विहीबार उद्घाटन हुँदैछ । शुक्रबार उम्मेदवारले मनोनयन दर्ता गर्नेछन् ।

वागमती प्रदेशमा सभापति शेरबहादुर देउवा समूहबाट इन्द्र बानियाँ उम्मेदवार बन्दै छन् । मकवानपुरका पूर्व सभापति बानियाँ अहिले कांग्रेस वागमती प्रदेश संसदीय दलका नेतासमेत हुन् ।

उता कृष्ण प्रसाद सिटौला समूहबाट भने पूर्वमन्त्री भिमसेनदास प्रधान सभापतिको उम्मेदवार बन्ने भएका छन् ।

देश संघीयतामा गएपछि कांग्रेसले पहिलो पटक प्रदेश संरचनामा संगठन निर्माणका लागि अधिवेशन गर्दैछ ।