सांकेतिक तस्बिर

एक सातादेखि सम्पर्कविहीन कर्मचारी भेटिनन्

By खबरहब

October 02, 2021

सोलुखुम्बु- एनएमबी लघुवित्त वित्तीय संस्था सोताङमा कार्यरत कर्मचारी एक सातादेखि बेपत्ता बनेका छन् । सोताङ गाउँपालिका–१ हुलु स्थायी ठेगाना भएकी २५ वर्षीया मनकुमारी कार्की गत शुक्रबार ४ : २५ बजेदेखि सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक कवित कटवालका अनुसार अपराह्न ४ : २२ बजे साथिलाई सन्देश पठाएको र ४ : २५ बजेदेखि मोबाइल अफ भएको छ । मासिक बैठक सञ्चालनका लागि माप्य दूधकोशी–६ र ७ वाकुमा दुई कर्मचारीसँगै गएका भए पनि सोलाबनबाट हाकुला झर्नेक्रममा छुट्टिएपछिको अवस्था थाहा नभएको मनकुमारीका बुबा चित्रबहादुर कार्कीले बताए।

सम्पर्कविहीन भएको थाहा हुने बित्तिकै स्थानीयवासी, वाकु प्रहरीचौकी र इलाका प्रहरी कार्यालय सोताङकाटबाट प्रहरी निरीक्षक नवीन राईको टोली परिचालन भए पनि पत्ता लगाउन नसकेपछि सोमबार जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक कवित कटवालको टोलीसमेत घटनास्थल पुगेको थियो ।

अनुसन्धानका लागि घटनास्थल पुगेको प्रहरी नायब उपरीक्षक कटवालको टोली दुई दिनपछि जिल्ला फर्किएको छ भने एक हप्तापछि प्रहरी निरीक्षक राईको टोलीसमेत फर्केको छ । अहिले प्रहरीचौकी वाकुको टोलीले त्यस क्षेत्रमा अनुसन्धानसहित खोजीकार्य जारी राखेको प्रहरीले जनाएको छ । घटनास्थलबाट फर्केको टोलीले अहिले थप अनुसन्धान गरिरहेको प्रहरी नायब उपरीक्षक कटवालले जानकारी दिए ।